News

ऐलानी जग्गाको नापजाँच गर्दै कोहलपुर नगरपालिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित रूपमा वसोबास गर्दै आएकाहरूलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्य सुरू गरेको हो । 

कोहलपुर नगरपालिकाको वडा नं. १० र १२ लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने जनाइएको छ । वडा नं. १२ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितको १ हजार ६ सय ८० कित्ता जग्गा छ ।

यसअघि, वडा नं. १ मा १ हजार ५ सय ६६ कित्ता ऐलानी जग्गा नापजाँच भएको थियो । त्यस्तै, वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको १ हजार ७ सय ३० कित्ता नापजाँच भएको थियो ।

वडा नं. २ मा मात्रै अहिले १ हजार ८ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नं. २ मा ऐलानी जग्गा नापजाँचको काम बुधवार पूरा भएको छ ।

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका अनुसार ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएका छन् । जसमा कोहलपुर नगरपालिकाबाट नौ जना, भूमि आयोगबाट छ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना गरी २१ जना अमिनको टोली खटिएको छ । 

अबको केही महिनामा नापजाँचको काम सक्ने गरी नगरपालिकाले काम अघि बढाएको जनाइएको छ । 

कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It