Development

कालीगण्डकी करिडोरः एकैपटकमा ५४ किलोमिटर सडक कालोपत्र गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रको काम थालेको हो ।

बागलुङ नगरपालिका, १ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ ।

मालढुङ्गा-बलेवा खण्डको काम खड्का–कृष्ण बिएन जेभीले काम सुरु गरिसकेको छ । मालढुङ्गाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । १० किलोमिटर खण्ड निर्माणका लागि कम्पनीले रू. ५५ करोडमा ठेक्का लिएको छ । दुई वर्षमा मालढुङ्गा-बलेवा खण्ड कालोपत्रे भइसक्ने  कम्पनीले प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, कालिका कन्स्ट्रक्सनले बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि रु. तीन अर्ब ३० करोडमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ । 

करिडोर अन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीधाम, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ ।

करिडोर निर्माण भएसँगै चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको दक्षिणी सीमा भारतको सुनौलीबाट र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

कुल ४ सय ३५ किलोमिटर लम्बाइ रहेको करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने  अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It