Development

अहिलेसम्मकै महंगो लागतमा काँकडभिट्टा-लौकही सडक विस्तार हुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा-लौकही सडक विस्तार हुने भएको छ । पूर्वी काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म यससडक खण्ड विस्तारमा चिनियाँ र भारतीय निर्माण कम्पनी इच्छुक देखिएका छन् । केही समय अघि सडक विस्तारका लागि एसियाली विकास बैंकको आयोजना निर्देशनालय (एडीबी) ले ठेक्का आह्वान गरेको थियो ।

यस सडकखण्ड निर्माणका लागि पाँचवटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो । जसमा पहिलो प्याकेज  अन्तर्गत ४५ किलोमिटर सडक विस्तार गर्न तीनवटा निर्माण कम्पनीहरूको आवेदन दिएका थिए । दोस्रो प्याकेजमा ४० किलोमिटर सडक खण्ड विस्तार गर्न चार वटा निर्माण कम्पनीको आवेदन परेको छ । 

त्यसैगरी तेस्रो प्याकेजमा १०.५ किलोमिटरको सडक विस्तार गर्न पाँच निर्माण कम्पनी इच्छुक देखिएका छन् । चौथो प्याकेजमा पुल निर्माणको लागि ठेक्का आह्वान गरिएको छ । जसमा पहिलो ३ वटा आर्कब्रिज निर्माण गर्न गरिएको ठेक्कामा एकमात्र निर्माण व्यवसायीको आवेदन परेको छ । पाँचौ प्याकेजमा तीन वटा पुल निर्माणका लागि दुई वटा निर्माण व्यवसायीको आवेदन परेको छ । 

अहिलेसम्मकै महंगो लागतमा काँकडभिट्टा-लौकही सडक विस्तार हुने

बजार क्षेत्रमा सर्भिस लेनसहित सडक निर्माण गर्नुपर्ने छ । निर्माण कम्पनीले सम्झौता भएको ३ वर्षसम्ममा सडक तथा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । निर्माण सम्पन्न भएको ५ वर्षसम्म सो सडकमा हुने सबै मर्मतसम्भारको कामको पनि जिम्मा निर्माण कम्पनीले लिनुपर्ने हुन्छ ।

हाल ठेक्का आवेदन परेका निर्माण व्यवसायीहरुको प्राविधिक मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकन प्रक्रिया सम्पन्न भएपछि आर्थिक प्रस्ताव खोल्ने काम सुरु हुनेछ । प्रक्रिया पुरा गर्न डेढदेखि दुई महिनाको समय लाग्छ । आयोजनाले मुआब्जा वितरणको लागि स्वीकृति पर्खिरहेको छ । जग्गाको मुआब्जा दिइसकेको र केही संरचनाका लागि चार करोड रुपैयाँ मात्रै दिनुपर्ने देखिएको निर्देशनालयले जनाएको छ ।  

कुल ९५.५ किलोमिटर सडकखण्ड निर्माण लागत प्रति किलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । नेपालका अन्य सडक विस्तार लागतका तुलनामा यो रकम उच्च हो । पुल र परामर्शदाताको शुल्कबाहेक सडकको निर्माणमा प्रति किमि साढे ३३ करोड रुपैयाँ खर्च हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ । सडकखण्ड विस्तारका लागि एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदर अनुसार करिब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । यसबाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

६ वटा आर्कब्रिज निर्माण गर्न १२ अर्ब लागत

काँकडभिट्टा-लौकही सडकखण्डमा ६ वटा पुल निर्माणको योजना छ । पहिलो प्याकेजमा निन्दा, बिरिङ  र कन्काई लगायत प्रमुख पुलहरु निर्माण हुनेछन् । त्यस्तै; दोस्रोमा रतुवा, बक्राहा र लोहन्द्रा पुल रहेका छन् । दुई वटा पुल निर्माण प्याकेजमा लगभग १२ अर्ब लागत अनुमान गरिएको छ । एउटा पुल निर्माण गर्न लगभग २ अर्ब रुपैयाँ लाग्ने छ । एउटा प्याकेजमा ३ वटा पुल छन् ।

आर्कब्रिज

६ वटै पुल ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुनेछन् । यी पुलको लम्बाई ३ सय १८ मिटरदेखि ७ सय ३ मिटरसम्म हुनेछ । जसमा निन्दा पुल ३१८ मिटर, बिरिङ ३९८ मिटर, कन्काई ७०३ मिटर, रतुवा ५८२ मिटर, बक्राहा ३१८ र लोहन्द्रा पुल ३८४ मिटर लम्बाइका हुनेछन् । 

यो सडकमा १० वटा आकाशे पुल र साना खालका अन्डरपास २० वटा निर्माण हुनेछन् । सडक विभाग, आयोजना निर्देशनालय एडीबी सासेक हाईवे इम्प्रुभमेन्ट प्रोजेक्ट-प्रोजेक्ट प्रिपाराटोरी कन्सल्टट्यान्ट अन्तर्गत सञ्चालित यस आयोजनाको सडक एसियाली मापदण्डको हुनेछ ।

२०२६ सम्म यो सडक सञ्चालनमा आउने

काँकडभिट्टादेखि सुनसरी लौकही सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५/२५ मिटर हुने छ । आवश्यकता अनुसार सडकमा ६ वटा पुल हुनेछन् ।

यो सडकखण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ । यस खण्डमा चिया बगान, कृषि जमिन र वन समेत पर्दछ । सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोसी राजमार्गलाई जोडेको छ ।

काँकडभिट्टा-लौकही राजमार्गमा ७१ वटा खोलाहरू पर्दछन् । जसमा ३९ आरसीसी टी-बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप पुल रहेका छन् । सर्भिस रोड पनि दुवै साइडमा निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ ।

जनावरको आवजावतका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ पुल, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरू निर्माण हुनेछन् । सहरी क्षेत्रमा क्यारिज-वे चार लेनको दुवैपट्टि ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टि ५.५०/५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको छ । सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।

सडक बनाउँदा निर्माण सामाग्री स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने निर्माण कम्पनीले सर्त राखेको छ । आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यस परियोजनाबाट १२ लाखभन्दा बढी सर्वसाधारणलाई लाभ हुनेछ ।

सडक विस्तारका क्रममा ३६७ घरधुरीको ३७७ वटा निजी संरचनालाई प्रत्यक्ष असर गर्ने देखिएको छ । यस्तै, २६९ वटा सामुदायिक संरचना, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनालाई असर गर्नेछ । यसैगरी वन क्षेत्रबाट ४ हजार ३५३ र अन्य रोड साइडबाट ८ हजार १९५ वटा रुख काट्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It