Lifestyle

जनैपूर्णिमा तथा रक्षाबन्धन किन मनाइन्छ ! यस्ता छन् जनै र डोरोको महत्व

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । श्रावण शुक्ल पूर्णिमा पुरोहितको हातबाट जनै फेर्ने, र दिदीबहिनीको हातबाट रक्षाबन्धन बाँध्ने दिनका रुपमा प्रचलित छ । नेवारी परम्परा अनुसार यस दिनमा क्वाँटी खाने चलन पनि छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले यस विशेष दिनमा भान्जा, ज्वाइँ र ब्राह्मणले श्लोकबाट मन्त्र जप गरिएका जनै फेर्ने र सोही अनुसार रक्षाबन्धन बाँध्ने गरिन्छ । यस लेखमा विविध नेपाली चाडपर्वमध्ये अग्रपङ्क्तिमा पर्ने यो पर्व विशेष महत्वका साथ मनाउनुका धार्मिक, सामाजिक र वैज्ञानिक कारण सम्बन्धित चर्चा गर्दैछौ ।  

जनैपूर्णिमाको धार्मिक महत्वः

जनैपूर्णिमाको धार्मिक महत्व सत्ययुगसँग सम्बन्धित छ । सत्य युगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा मनाउन थालिएको हो भन्ने मान्यता रहिआएको छ ।

जनै

जनैपूर्णिमामा आधारित एक किंवदन्ती यस्तो छ- “सत्य युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भीषण युद्ध चल्यो । अजंग शरीर भएका दैत्यहरूलाई हराउन सक्नु सामान्य कुरा थिएन । वर्षौँसम्म युद्ध चलिरह्यो । कयौं कोसिसका बाबजुदपनि इन्द्रले असुरहरूलाई पराजित गर्न सकेनन् । अन्ततः असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेरै छाडे । युद्धमा नमीठो हार बेहोरेका देवगण धर्म संस्कार विहीन भएर जीवनयापन गर्नु पर्यो । धर्ममा आस्था राख्ने देवराज इन्द्रलाई यस्तो जीवन सह्य भएन । यसरी बाँच्नु भन्दा मर्नु नै उपयुक्त विकल्प हुने ठानेर उनले अन्तिम युद्धको संकल्प गरे । श्रावण शुक्ल चतुर्दशीको दिन देवगुरु बृहस्पतिले इन्द्रको कल्याण र विजयको कामना गरे । भोलिपल्ट पूर्णिमाको शुभ मुहूर्त हेरि इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरे । जसको प्रभावका कारण इन्द्रले युद्धमा दैत्यहरूलाई हराउन सफल भए ।” 

सो दिनदेखि आजसम्म ब्राह्मण वा आचार्य गुरुहरूले विशेष मन्त्र पाठ गरी रक्षा बन्धन र जनै बाँधिदिन्छन् । जुन मन्त्र यस्तो छः “येन बद्धो वलीः राजा दानवेन्द्रो महाबलःतेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल । अर्थात् जुन रक्षासूत्रले अत्यन्त बलशाली राजा वली बाँधिएपछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु ।” 

जनै फेर्ने चलनः

ब्राह्मण र क्षेत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल बितेपछि विधिपूर्वक व्रतबन्ध कर्म गराइन्छ । पुरोहितले मन्त्रेको जनै ६ वटा काँचो धागो अर्थात् ६ सूते धागोलाई दुई बेग्लै गाँठो पारेर सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा जनैपूर्णिमाको दिन फेर्ने चलन छ । जनैको लम्बाइ ९६ अंगुल हुन्छ । जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । ६४ कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्दछन् । त्यस्तै ३२ विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । ब्राह्मण पुरोहितले मन्त्रेको जनैको डोरो हातको नाडीमा धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र आध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ । साथै यसलाई पवित्रता र सुरक्षाको बन्धन पनि मानिन्छ । 

रक्षाबन्धनको प्रचलनः

जनैपूर्णिमाको दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धन/राखी बाँधेर, टिका लगाएर मिठाई खुवाउछन् । दाजुभाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा दिदि बहिनीको रक्षा गर्ने वचन दिन्छन् । एक शास्त्रिय कथा अनुसार, यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बांध्ने सन्दर्भमा ‘जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ’ प्रतिज्ञा दिएको हुन्छ । यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवंम निडरतासँग छ । 

यसरी बाँधिएको धागो गाई तिहारका दिन निकालेर गाइको पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास छ ।

जनैपूर्णिमामा क्वाँटी खाने परम्पराः 

“क्वाँटी” खाने परम्पराले यसको झनै महत्व थपेको छ ।  पानीमा भिजाई राखिएको गेंडागूडिहरुमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । क्वाटीमा विभिन्न ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ । यसरी हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल बनाएर अथवा खसी वा कुखुराको मासु मिसाएर समेत क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवारी संस्कृतिमा यसको विशेष महत्व छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ । 

जनैपूर्णिमाको दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधाममा मेला लाग्ने गर्दछ । 

रक्षा बन्धनको परम्परा अनुशासनको विधि पनि हो । यो सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ ।

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । हाम्रा पुर्खाहरूले मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ भन्ने गरेको सुन्नु भएकै होला । यसको पछाडि वैज्ञानिक कारण रहेको छ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । यसरी कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ एवंम पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ । जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।

तर पछिल्लो समय जनै पुर्णिमाको महत्व नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दु:खदको कुरा हो । पश्चिमा संस्कृतिले नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य बन्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It