News

बैंकले ऋण नदिँदापनि फागुनमा वर्षकै दोस्रो धेरै घरजग्गा किनबेच

Pinterest LinkedIn Tumblr

फागुन महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ । मंसिर यता ओरालो लागेको घरजग्गा कारोबार फागुनमा फेरि उकालो लागेको हो । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ७४ हजार ३६ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् । यो चालु आर्थिक वर्षको दोस्रो धेरै हो ।

चालु वर्षमा साउनमा सबैभन्दा धेरै साढे ७५ हजार घरजग्गा किनबेच भएको थियो । माघको तुलनामा फागुनमा १४ हजार ५२० वटा बढी घरजग्गा किनबेच भएको हो । फागुनमा किनबेच, रोक्का, फुकुवा गरी कुल १ लाख ६२ हजार ६७८ वटा घरजग्गाको कारोबार भएको विभागले जनाएको छ । असोज र कात्तिकमा सुस्ताएको घरजग्गा किनबेच मंसिर र पुसमा बढेको थियो । फेरि माघमा ओरालो लागेको कारोबार फागुनमा बढेको विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार चालु वर्षको आठ महिना फागुनसम्म कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो । त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ घरजग्गा खरिद विक्री भएको थियो ।

बैंकले ऋण नदिँदा पनि कसरी बढ्यो किनबेच ?

पछिल्लो समय बैंकिङ प्रणलीमा चरम तरलता अभाव हुँदा सहजै ऋण नपाउने अवस्था भए पनि घरजग्गा कारोबार भने उकालो लागेको छ । बैंकबाट ऋण नपाउने अवस्था र पाए पनि महँगो ब्याज तिर्नुपर्ने अवस्थामा पनि फागुनमा घरजग्गा कारोबार ह्वात्तै बढेको हो । भूमी व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारी विगतमा कोरोना महामारीका कारण बन्द रहेका मालपोत कार्यालयहरू समेत सञ्चालनमा आएकाले किनबेच बढेको बताउँछन् । विगतमा कोरोनाको त्रासले हाम्रा केही कार्यालयहरू पूर्ण रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । पछिल्लो समय सबै कार्यालयहरू संञ्चालनमा आएसँगै घरजग्गा कारोबार बढेको हो । अरु खास कारण केही देखिँदैन,’ उनले भने ।

बैंकबाट सहज ऋण नपाउँदा र ब्याज समेत बढ्दा पछिल्लो समय घरजग्गाको मूल्यमा केही गिरावट आएको व्यवसायीहरु बताउँछन् । जग्गाको भाउ केही सस्तिँदा आफूसँग पैसा भएकाहरुले किन्न थाल्दा पनि कारोबार बढेको उनीहरुको भनाइ छ । यस्तै, पछिल्लो समय बैंकबाट ऋण नपाए पनि सहकारीहरुले ऋण दिन थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको देखिन्छ । त्यसैगरी, यसअघि सेयर बजारमा नाफा कमाएकाहरु समेत घरजग्गामा लगानी गर्न थालेको बताइन्छ । यस्तै, अनौपचारिक क्षेत्रबाट आएको पैसा घरजग्गा व्यवसायमा लगानी हुने गरेकाले पनि कारोबार बढ्न सहयोग पुगेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घरजग्गामा हुने ऋण लगानीलार्ई कडाइ समेत गरेको थियो । तर, त्यसको विपरीत फागुनमा घरजग्गा कारोबारमा उछाल आएको छ ।

राजस्व संकलनमा पनि उछाल

घरजग्गा कारोबार बढेसँगै राजस्व संकलन पनि बढेको छ । देशभरका विभिन्न मालपोत कार्यालयहरूबाट नामसारी, रोक्का, फुकुवा लगायत कारोबार बढ्दा राजस्व संकलनमा पनि बढेको हो । माघको तुलनामा फागुन महिनामा ७६ करोड रुपैयाँ बराबरको राजस्व संकलन बढेको छ । माघमा ५ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको राजस्व संकलन फागुनमा बढेर ६ अर्ब २६ करोड पुगेको विभागले जनाएको छ ।

चालु आवको आठ महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ५४ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

फागुनमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच

यस महिनामा देशभरका मालपोत कार्यालयहरूबाट कुल ७४ हजार घरजग्गाको किनबेच भएको छ । जसमध्ये सबैभन्दा धेरै सुनसरीको भूमि सुधार तथा मालपात कार्यालय इनरुवाबाट ३ हजार २८६ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, फागुनमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः मालपोत कार्यालय बेलवारी, मोरङ २ हजार ८७२, झापाको मालपोत कार्यालय भद्रपुर २ हजार ७७२, जनकपुर मालपोत कार्यालय धनुषाबाट २ हजार ४९६ र मालपोत कार्यालय बाँकेको नेपालगञ्जबाट २ हजार ४४९ घरजग्गा किनबेच भएका छन् ।

त्यसैगरी,मालपोत कार्यालय ललितपुरको लगनखेल २१६७, भक्तपुर मालपोत कार्यालयबाट २०३६,मालपोत कार्यालय काभ्रेपलान्चोकबाट १९३०, मालपोत कार्यालय कलंकी १८३२,चितवन मालपोत कार्यालय १७५८ र मकवानपुर मालपोत कार्यालयबाट १७२२ वटा घरजग्गा किनबेच भएका छन् ।

८ मालपोत कार्यालयबाट भएन किनबेच

फागुनमा देशभरका १२९ मालपोतमध्ये ८ वटा कार्यालयबाट घरजग्गा सम्बन्धी अन्य कारोबार भए पनि किनबेच भने भएको छैन । विभागका अनुसार फागुनमा मालपोत कार्यालय सर्लाहीको बलरा, सिर्दिवास,मनाङ, बझाङको झोता मालपोत कार्यालय, चन्द्रौटा मालपोत कार्यालय र गरुडा रौतहट मालपोत कार्यालयबाट एउटा पनि घरजग्गा किनबेच भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It