टिप्स

घर बनाउनुअघि ख्याल राख्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले भौतिक संरचनाबाट हुने जोखिमलाई कम गर्न भवन निर्माण मापदण्ड निर्धारण गरेको छ । सो मापदण्डले घर तथा भवन निर्माणमा बलियो र जोखिममुक्त संरचनाको आधार तय गर्छ । आवासिय प्रयोजनका लागि भवन निर्माण गर्नुअघि जान्नै पर्ने कुराहरू आजको लेखमा । 

भवन निर्माण गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनिवार्य अनुमति लिएको हुनुपर्छ । जसका लागि निवेदनसँगै विभिन्न कागजातहरू पेश गर्नुपर्ने हुन्छ । 

जसमा लालपुर्जा, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, कित्ता नम्बर स्पष्ट भएको नक्शा, भवनको नक्शा किताब र त्यो नक्शा तयार गर्ने प्राविधिकको योग्यताको प्रमाण, जग्गा हकभोगको निस्सा, अनुमति प्राप्त प्राविधिकले गरेको भवनको ‘स्ट्रक्चरल प्लान’ संलग्न गर्नुपर्छ । निवेदनसँगै निर्माण सुपरीवेक्षण गर्ने प्राविधिकसँग भएको सम्झौता पनि जरुरी हुन्छ ।

भवन ऐन २०५५, संशोधित २०६४ अनुसार, भवन निर्माण संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनको लागि भवनलाई चार वर्गमा वर्गीकरण गरिएको छः 

‘क’- विकसित मुलकमा अपनाइएका भवन संहिता समेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवनहरू ।

‘ख’ –  भुईंतलाको क्षेत्रफल एक हजार वर्गफिट भन्दा वढी भएका, तीनतला भन्दा बढी भएका, घरको संरचनात्मक भाग (पिलर, गारो) बीचको दूरी ४.५ मीटर भन्दा बढी भएका भवनहरू ।

‘ग’- भुईंतलाको क्षेत्रफल एक हजार वर्गफिट भन्दा कम भएका, तीनतला भन्दा कम भएका, घरको संरचनात्मक भाग (पिलर, गारो) बीचको दूरी ४.५ मीटर भन्दा कम भएका भवनहरू ।

‘घ’ – काँचो वा पाको ईट्टा, ढुङ्गा, माटो, बाँस, खर आदि प्रयोग गरी बनाइने भवनहरू ।

भवन वर्गिकरणका आधारमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ मा उल्लेख भएअनुसार आवासीय भवनको लागि निम्न मापदण्ड तोकिएको छः

१. सार्वजनिक पानीको मुहान र निकासलाई असर पर्ने गरी कुनै संरचना निर्माण गर्न पाईंदैन ।

२. काठमाडौं उपत्यका, सहरी नगर क्षेत्र र तराईका जिल्लाहरूमा कुनै पनि जग्गामा भवन बनाउँदा न्यूनतम ६ मिटरको बाटो हुनुपर्छ ।

३. हिमाली र पहाडी जिल्लाहरूमा भने ४ मिटर फराकिलो सडक भएको जग्गामा मात्र घर बनाउन सकिन्छ ।

४. सडकको चौडाइ न्यूनतम ६ मिटर र सेटब्याक सडक किनाराबाट न्यूनतम १.५ मिटर छोडिएको हुनुपर्छ ।

५. सडकको क्षेत्राधिकार र सेटव्याकभित्र टप, बार्दली, छज्जा आदि कुनै पनि संरचनाहरू बनाउन पाइदैन ।

६. २५० वर्गमिटर (२६९० वर्गफिट) सम्मको क्षेत्रमा घर बनाउँदा ३० प्रतिशत र सो भन्दा बढिमा ४० प्रतिशत जमिन खाली राखेर भवन निर्माण गर्नुपर्छ ।

७. भवन निर्माण क्षेत्रभित्र पनि एक मिटरभन्दा बढिको टप, बार्दली, छज्जा निकाल्न पाइदैन । 

८. झ्याल राख्न सेटव्याक ५ फिट हुनुपर्छ ।

९. आवासीय प्रयोजनको लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाईनेछैन । यदि कसैले सटर, पसल राखी भवन निर्माणको स्वीकृति लिएमा सो भवनलाई स्वतः व्यापारिक भवन मानिनेछ । 

१०. ४ फिट भन्दा अग्लो हुने गरी कसैले पनि पर्खाल लगाउन पाईंदैन । सो भन्दा माथि बढाउन चाहे ३ फिट माथिसम्म जाली राख्न सकिने, यसरी लगाइने पर्खाल पनि डेढ मिटर खाली जग्गा छाडेर लगाउनुपर्छ ।

११. नयाँ निर्माण हुने ‘क’ र ‘ख’ वर्गका भवनले छानाको पानी जमिन मुनि पठाउने र जमिनले सोस्न नसक्ने पानी मात्र ढलमा पठाउने व्यवस्था गर्नु पर्छ ।

१२. घर बनाउँदा सेप्टिक ट्यांक अनिवार्य हुनुपर्छ । सेप्टिक ट्यांक नबनाएसम्म नक्शा पास हुँदैन ।

१३. घर बनाउन लागेको जग्गा ३० डिग्रीभन्दा धेरै भिरालो छ भने घर बनाउन नपाइने व्यवस्था छ ।

१४. खानी तथा भूगर्भ विभाग र जिल्ला दैवीप्रकोप उद्धार समितिले निषेध गरेका ठाउँ, हाइटेन्सन विद्युत् प्रसारण लाइनको मुनि पनि घर बनाउन पाइँदैन । 

भवन वरिपरिको बाहिरी खुल्ला क्षेत्र सम्बन्धी प्रावधानहरू
क्र. सं अधिकतम भवनको उचाई भवनको चारै तर्फ खुल्ला छोड्नु पर्ने बाहिरी खुल्ला क्षेत्र मिटरमा (प्लट अगाडी र पछाडि दुबै तर्फ)
१. १७ मीटर सम्म  तोकिएको सेट ब्याक अनुसार
२. १८ – ३३ मीटर सम्म  ६ मीटर
३. ३३ – ५५ मीटर सम्म  १० मीटर
४. ५५ मीटर भन्दा बढी १५ मीटर

मापदण्ड विपरीत निर्माण भएका भवनलाई सम्बन्धित स्थानीय निकायले पूर्ण वा आंशिक रुपमा भत्काउन लगाउन सक्छ । खुला क्षेत्र पर्ने र मापदण्ड अनुसार नगरे सो क्षेत्रमा स्थानीय निकायले खानेपानी, बिजुली, ढल र अन्य विकासका पूर्वाधार रोक्न सक्ने मापदण्ड तोकिएको छ । यी मापदण्डलाई ध्यान दिँदै भवन निर्माण थप मापदण्डका बारेमा जानकारी लिन मालपोतका सम्बन्धित इन्जिनियरको सल्लाह लिनुपर्छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It