Lifestyle

सरस्वति पूजाः धार्मिक महत्व र पूजा गर्ने तरिका 

Pinterest LinkedIn Tumblr

 काठमाडौं । आज सरस्वती पूजा, देशभरका विद्यापीठहरूमा देवी सरस्वतीको पूजा आरधाना गरी मनाइदै छ । साथै विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरिन्छ । आजको दिन विद्यालय प्रवेश नगरेका बालबालिकालाई भर्ना तथा अक्षराम्भ गराउने चलन पनि छ  ।

सनातन हिन्दु परम्पराअनुसार आजको दिन मन्दिर विद्यापीठ र घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्या प्राप्ति हुने विश्वास छ । यस दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरूले देवी सरस्वतीका साथमा विद्या आर्जनका सहयोगी सामग्रीको श्रद्धापूर्वक पुजा गर्दछन् । 

काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितहरूबाट विधिपूर्वक कथावाचन गरि वसन्त श्रवण गर्ने चलन पनि छ । तिथिअनुसार माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीबाट वसन्त ऋतु सुरु हुने हुँदा यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । 

सरस्वति पूजा विधिः

सरस्वती पूजाको दिन बिहान ब्रम्हा मुहूर्तमा उठेर स्नान गरि शुद्ध वस्त्र पहिरिएर घरको पूजा कोठा, घर वा आँगनको पुर्वपट्टी सरस्वती पूजा गर्ने स्थान बनाउनु पर्छ । सो स्थानमा सम्भव भएसम्म गाईको गोबरले लिप्नुपर्छ । लिपेको स्थानमा पहेँलो वा सेतो कपडा ओछ्याएर सरस्वतीको मूर्ति वा फोटो राख्नुपर्छ । 

पूजाका लागि आफ्नो दक्षअनुसारका सामाग्रीहरू जुटाइ दियो, कलश र गणेशको स्थापना गरि पूजा गर्नुपर्छ । र सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गर्नुपर्छ । नैवेद्यको रुपमा क्षमता अनुसार नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । 

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसरी सरस्वतीको पूजा र आरधाना गर्नाले मूर्ख पनि महान् विद्धान बन्ने विश्वास छ । 

पौराणिक मान्यताः

सृष्टिको प्रारम्भिक कालमा श्रीब्रह्मा विभिन्न जीवहरूको रचना गर्दैथिए । उनले मनुष्य योनिको रचना गरे तर आफ्नो सृष्टिसँग सन्तुष्ट हुन सकेनन् । उनलाई सृष्टिमा भएको कमीका कारण चारैतिर मौनता छाएको महशुष हुन्थ्यो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट पानी झिकेर पृथ्वीमा छरे । जलकण छरिने बित्तिकै पृथ्वीमा कम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो, बाँकि दुई हातहरूमा पुस्तक र माला थिए । 

ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
Pin It