Research

ढलान र वालमा नियमित क्युरिङ नगर्दा के हुन्छ ? यस्ता छन्, जान्नै पर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर बनाउँदा ढलान, वाल, पिलर तथा प्लास्टर गरेपछि लगातार पानीले भिजाइ राख्नु पर्छ । यसलाई प्राविधिक भाषामा क्युरिङ गर्नु भन्ने गरिन्छ । बजारबाट ल्याइएको सिमेन्ट हातले छाम्दा चिसो हुन्छ । तर त्यसमा पानी राख्दा त्यसबाट ताप उत्पन्न हुन्छ । यसरी पानीको सम्पर्कबाट ताप उत्पन्न भएको मिश्रणलाई फेरि चिसो अवस्थामा राख्न क्युरिङ गरिन्छ । 

कंक्रिटको मिश्रणलाई निश्चित भारका लागि डिजाइन गरिएको हुन्छ । कंक्रिटले तब मात्र मजबुती पाउँछ जब पानी हालेर भिजाउने काम सुरु हुन्छ । यसरी क्युरिङ गरेको कंक्रिटको भारवहन क्षमता क्युरिङ नगरेको कंक्रिटको भन्दा दुई गुणासम्म बढि हुने विभिन्न ल्याब परीक्षणबाट पुष्टि भएको छ ।  

कहाँ-कहाँ गरिन्छ क्युरिङ ?

सिमेन्ट मिश्रित सबै ठाउँमा आवश्यकता अनुसार क्युरिङ गर्नुपर्छ । सामान्य भाषामा भन्दा सिमेन्टको प्रयोग भएको सबै ठाउँमा ७ देखि २२ दिनसम्म क्युरिङ गर्नु पर्छ । बिहान बेलुका तथा आवश्यकता अनुसार पानी हालेर घरलाई चिसो बनाइराख्नु पर्छ । गर्मी मौसममा दिनको ३ वा ४ पटकसम्म क्युरिङ गर्नुपर्ने हुनसक्छ । 

कहाँ, कति दिन क्युरिङ गर्ने ?

इँटाको पर्खालमा कम्तिमा १० दिनसम्म दिनको ३ पटकका दरले क्युरिङ गर्नुपर्छ । प्लास्टरमा कम्तिमा ७ दिनसम्म दिनको ३ पटक वा आवश्यकता अनुसार क्युरिङ गर्नुपर्छ । भने ढलानमा २८ दिनसम्म लगातार क्युरिङ गर्नुपर्छ ।

क्युरिङ गर्ने तरिकाहरूः

ढलानमा ताल बनाएरः यो विधि ढलानमा मात्र प्रयोग गर्न सकिन्छ । छेउछाउबाट पानी नजाने गरी डिल बनाएर पानी जमाइराख्नाले ढलानमा निरन्तर क्युरिङ भइरहन्छ ।

जुटको बोरा भिजाएर: पिलर र भर्‍याङमा क्युरिङ गर्दा पानी बगेर गइहाल्ने हुन्छ । यसो हुँदा जुटको बोरा भिजाएर कंक्रिटलाई छोपिराख्दा क्युरिङ प्रभावकारी हुन्छ । जुटको बोरा भिजाएर पिलरमा बाँध्न सकिन्छ । र सुकेपछि त्यसैमा पानी हालेर भिजाइराख्न मिल्छ ।

स्प्रिङ्कल प्रयोग गरेरः स्प्रिङकल प्रयोग गरेर पनि घरको विभिन्न स्थानलाई चिसो बनाइ राख्न सकिन्छ । यो कृषि क्षेत्रमा प्रयोग हुने एक धारो हो । जसले निश्चित स्थानबाट वरिपरिका भागहरूमा लगातार क्युरिङ भइरहन्छ । जसलाई निर्माणमा सजिलै प्रयोग गर्न सकिन्छ ।

क्युरिङ नगर्दा के हुन्छ ?

कतिपयले क्युरिङलाई खासै महत्व दिँदैनन्, र फुर्सद भएको दिनमा मात्र पानी हाल्ने गरेको पनि पाइन्छ । तर राम्ररी क्युरिङ नगर्दा भवनको भार बहन क्षमतामा कमी आउनुका साथै सम्पूर्ण निर्माण कमजोर हुन पुग्छ । त्यस्तै प्लास्टरमा राम्रोसँग क्युरिङ नगर्दा छिटै चर्किन सक्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
Pin It