Vaastu

पीपल पूजा किन गरिन्छ ! यस्ता छन् धार्मिक मान्यता

Pinterest LinkedIn Tumblr

सुन्नुहोसः

 

काठमाडौं । धार्मिक र सांस्कृतिक महत्वका हिसाबले पिपललाई अत्यन्तै शुभ वृक्ष मानिन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले नियमित पिपलमा जल समेत चढाउने गर्दछन् । यस्तोमा पिपलको वृक्षलाई विशेष महत्व दिनुका धार्मिक र वैज्ञानिक कारण तथा रहस्य केके हुन सक्छन् त ! यसै विषयमा केन्द्रित रहेर हामीले आजको लेख तयार गरेका छौं । 

पिपलको रुखको औसत आयु ९ सय वर्ष देखि १५ सय वर्ष सम्मको हुन्छ भन्ने गरिन्छ । यद्यपि कतिपय ठाउँमा तिन हजार वर्ष पुराना वृक्षहरू पाइने गरेको विभिन्न अध्ययनले देखाएको छ । उच्च तापक्रम खप्न सक्ने हुँदा हिमाली भेग तथा चिसो ठाउँमा यो वृक्ष कमै पाइन्छ । पीपललाई हिन्दु, बौद्व, र जैन धर्मावलम्बीहरूले पवित्र रूख मानी पूजा समेत गर्दछन् । 

अब कुरा गरौं पीपलका धार्मिक महत्वबारेः

पद्म पुराणका अनुसार पीपललाई भगवान विष्णुको रूप मानिन्छ । यसैकारण पनि पिपललाई वृक्षराज अर्थात् रुखहरूको राजा भन्ने गरिन्छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार दैत्य पत्निबाट श्राप पाएर  विष्णु भगवानले वनस्पति बन्नु परेको थियो । उक्त कथामा भनिएको छ, सत्य युगमा जालन्धर नामको एक दैत्यकी अत्यन्तै सुन्दर रूप भएकी श्रीमती थिइन । उनको नाम वृन्दा थियो । एकदिन दैत्यले पत्नीको तारिफमा मनग्यै शब्द खर्चिरहेको थियो। तब वृन्दाले हिमालय पुत्री अर्थात् महादेवकी अर्धाङ्गिनी पार्वतीको सामुन्ने आफ्नो रूप फिका भएको बताइन । तब जालन्धर श्री महादेवको भेषधारी कैलाश पर्वत जान तम्सियो । पार्वतीले पनि आफ्ना पति आएको ठानेर स्वागत गर्न पुगिन् । पार्वतीको रूप देख्नासाथ जालन्धर बेहोस भएर ढल्यो । पार्वतीले आत्तिएर भगवान विष्णुलाई डाकिन् । सम्पूर्ण घटना थाहा पाएपछि बदलाको लागि योजना बन्यो । जालन्धरको एउटै कमजोरी र शक्ति भन्नु नै वृन्दाको पतिव्रता धर्म थियो । यसो हुँदा जालन्धरको अन्त्य गर्न उसको भेषधारी भगवान विष्णु वृन्दाको मा पुगे । तत्पश्चात विष्णुले वृन्दाको पतिव्रता धर्म डगाइदिए । उनको पतिव्रता धर्म नास गरेपछि विष्णु आफ्नो रुपमा फर्किए । उता जालन्धरको मृत्यु भयो । तब छल र पतिविछोडले विक्षिप्त वृन्दाले भगवान विष्णुलाई श्राप दिइन् । फलस्वरुप विष्णुलाई हजारौं वर्षसम्म कहिले पिपल त कहिले तुलसी लगायत विभिन्न वनस्पति बनेर जमिनमा रहनुपरेको थियो । सोही क्रममा पीपल भगवान विष्णु भएको थाहा पाएर मानिसहरूले पुजा आरधाना गर्न थाले । आज पनि हिन्दु धर्ममा पिपललाई भगवान विष्णुको रूपमा पूजा गरिन्छ ।

श्रीकृष्णलाई भगवान विष्णुको दशौं अवतार मानिन्छ । भागवत गीतामा भगवान श्रीकृष्णले भनेका छन् ‘रुख मध्येमा म पिपल हुँ ।’ यसर्थ पीपल रुखहरू मध्ये पवित्र रूख हो । भन्ने गरिन्छ, यस रुखमा शनीको बास हुन्छ । जसले गर्दा शनिबारको दिन जल चढाउँदा वा छुँदा मात्र पनि यसको सकरात्मक प्रभाव पर्ने धर्मशास्त्रमा उल्लेख छ ।

peepal leaf

लामो समयसम्म एकाग्र भइ ध्यान गरिरहेका गौतम बुद्धले पनि पीपलकै फेदमा बुद्धत्व प्राप्त गरेका थिए । यसकारण बौद्ध धर्ममा पनि पीपललाई विशेष महत्वका साथ हेरिन्छ । पिपलको रुख, ज्ञानोदय र शान्तिको प्रतीक हो । पातको आकार हृदय जस्तै हुनेभएकाले पीपललाई प्रेमको प्रतीक पनि मानिन्छ । 

आयुर्वेदमा पीपलको महत्वः

आर्युवेदमा पीपललाई अस्वस्य भनिन्छ ।  पीपलको औषधीय गुण निकै प्रभावकारी छन । यसको जरा, बोक्रा, पात तथा फलमा कुनै न कुनै औषधीजन्य गुण हुन्छ जसले विभिन्न कडा प्रवृत्तिका रोगको उपचारसमेत सम्भव हुन्छ । यसलाई पचासभन्दा बढी रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ ।

 पीपलमा भिटामिनजन्य गुण हुन्छ । बाथ, गिजाको रोग, कान दुःख्ने, पुरानो घाउ, अल्सर, वाकवाकी, गनोरिया, मधुमेह, दम, पखाला, छारेरोग, ग्यास्टिक, नपुंसकत्व जस्ता रोग र समस्यामा पिपल प्रयोग गरिन्छ । यसको पात कमलपित्त र हृदय रोगमा पनि उपयोगी हुन्छ । कब्जियतको समस्या समाधान गर्नमा पिपलको पातको सेवन रामवाण नै मानिन्छ । अन्य विविध रोगमा पनि यसको उपयोगिता पाइन्छ ।

 आयूर्वेदिक उपयोगिताः

  • पिपल दमको उपचारमा प्रयोग गर्न सकिन्छ । पिपलको बोक्रा र पाकेको फलको धूलो मिसाएर सेवन गर्दा दममा आराम मिल्छ ।
  • भोक कम लागेमा अथवा खाना नरुच्दा पिपलको पाकेको फल खाँदा भोक नलाग्ने समस्या समाधान हुन्छ ।
  • पिपलको बोक्राको कासो (बोक्राको झोल) पिउनाले पिसाबसम्बन्धी समस्याबाट छुटकारा मिल्छ ।
  • मधुमेहका लागि पनि पिपलको कासो सेवन गर्नु फाइदाजनक छ ।
  • बाँझोपनको समस्यामा पिपलको रुखको सुकेको फलको धूलो काँचो दूधमा मिसाएर सेवन गर्दा बाँझोपनको समस्या हट्छ । 
  • छालासम्बन्धी रोगमा पीपलको प्रयोग फाइदाजनक हुन्छ । नरम पिपलको पात खाँदा छालाको चिलाउने समस्यामा आराम मिल्छ र छालाको रोग निर्मूल हुन्छ ।
  • पिपलको पात र पिपलको बोक्राको धूलो घाउमा लगाउनाले छिट्टै आराम मिल्छ र घाउ निको हुन थाल्छ ।
  • यदि कुनै विषालु प्राणीले टोकेको छ भने त्यसमा पिपलको पातको रस प्रयोग गर्न सकिन्छ । यसले विषको प्रभाव कम गर्दछ । 
  • आयुर्वेदका अनुसार छालामा निखार ल्याउनका लागि पनि पीपलको प्रयोग गर्ने गरेको पाइन्छ ।  पिपलको बोक्रा वा यसको पातको प्रयोगले छालाको रङ्ग निखार्नुका साथै चाउरीपना पनि कम गर्छ ।

पीपलको वैज्ञानिक महत्वः 

पिपलको वैज्ञानिक नाम फिकस रिलिगोसा हो । जसरी धार्मीक र साँस्कृतिक हिसाबले पीपलको महत्व छ, विज्ञानले पनि पीपललाई उस्तै महत्व दिएको पाइन्छ । यो एकमात्र यस्तो वनस्पती हो, जसले करीब २४ घण्टा नै अक्सिजन दिन्छ । त्यसैले पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ । तर रातको समयमा करीब १ घण्टा जति पीपलले कार्वनडाइअक्साइड फाल्दछ । जुन मानिसको स्वास्थ्यका लागि हानीकारक छ । यसो हुँदा रातको समयमा पीपलको वृक्ष नजीक नजानु राम्रो हुन्छ ।

peepal fruits

पीपलमा शनिबार जल चढाउनुको रहस्यः

पीपलको रुखमा जल चढाउनुको छूट्टै महत्व छ । र यसको विशेष विधि र प्रक्रिया पनि भएकाले यत्तिकै मनलागेको बेला जल चढाउँदा कुनै प्रभाव नपर्ने ज्योतिषहरूको भनाइ छ । जल चढाउनुका वैज्ञानिक र धार्मिक कारण छन् । 

 अरु दिनमा भन्दा शनिबार शनिको किरण धेरै मात्रामा पृथ्वीमा आउँदछन् । र ती किरणहरूलाई पीपलले सजिलै सोस्ने क्षमता राख्दछ । यो अवस्थामा शनीको कमिकमजोरी भएको व्यक्तिले पीपलमा जल चढाउँदा शनिका किरणहरू मानिसको शरीरमा प्रवेश गर्दछन् । सो कमी पुरा हुनुका साथै साढेसाती दशाको प्रभाव पनि कम भएर जान्छ । तर सूर्योदय भन्दा पहिला नै जल चढाइसक्नुपर्ने कुरामा ध्यान दिन जरुरी छ । घाम झुल्किसकेपछि भने मसिना किरणहरू ट्रान्सफर हुन गाह्रो हुन्छ । र सम्पूर्ण सकारात्मक प्रभाव लिन सकिँदैन । प्रायजसो जल चढाएपछि रुखलाई झुकेर ढोग्ने चलन छ । तर जल चढाइसकेपछि ढोग्दा अथवा रुखलाई छुँदा र अंकमाल गर्दा शनिका किरणको सकारात्मक ऊर्जा असन्तुलन हुन जान्छ । 

पीपलको रुख घरमा हुनु राम्रो कि नराम्रोः

कतिपय रूख घरमा उम्रिँदा शुभ मानिन्छ । तर पीपलको रूख घरमा उम्रिनुलाई भने अशुभको प्रतिक मान्ने गरिन्छ । सामान्यतया पीपलको रूख ठूलो हुने र जराहरू टाढासम्म फैलने हुँदा घर नजीकमा पीपलको रूख हुनु राम्रो मानिँदैन । यसका बलिया जराहरूले घरको आन्तरिक संरचनालाई हानी पुर्याउँदछ । 

अर्कोतर्फ पीपलको छायाँले शीतलता प्रदान गरेपनि घरमा पीपल छायाँले निर्जनता पैदा हुन्छ । नयाँ समस्याको समाधान गर्नका साथै विभिन्न समस्या झेल्नुपर्ने हुन्छ ।  पिपलको रूख घरमा राख्नु भनेको ऋणी हुनु हो भन्ने हिन्दू धर्मावलम्बीहरुको मान्यता छ । घर भित्र अथवा घरमा पिपलको छाया पर्ने गरि पिपल रोप्नु नराम्रो मानिन्छ । यसरी रोप्दा आर्थिक उन्नति नहुने, वैवाहिक जिवनमा समस्या आइरहने हुन्छ । यति मात्र नभइ घरमा परिवारको उन्नतिमा बाधा आउँछ । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It