Lifestyle

यस्ता छन्, ट्वाइलेट तथा बाथरूमलाई पर्यावरणमैत्री बनाउने ७ तरिका

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर तथा अफिसको ट्वाइलेट बाथरुम सफाइ स्वस्थ जीवनशैलीको एक महत्वपूर्ण पाटो हो  । तसर्थ बाथरुमको सफाइका लागि विभिन्न किसिमका रासायनिक चिजवस्तुको प्रयोग गरिन्छ । तर यो उपाय दिगो र स्वास्थ्यका लागि फाइदाजनक पनि नहुने हुँदा पर्यावरणमैत्री उपायको खोजी हुन थालेको छ । 

बाथरुमलाई पर्यावरणमैत्री कसरी बनाउने ?

बजारमा पाइने रासायनिक चिजवस्तुको कम प्रयोग गर्दै बाथरुमलाई पर्यावरणमैत्री बनाउन सकिन्छ ।

सफाईमा प्राकृतिक चीजहरू प्रयोग बढाउनेः

अधिकांश घरहरूमा कपडा धुन वा बाथरुम सफा गर्न रसायनयुक्त सामग्रीको प्रयोग हुन्छ । यसले हाम्रो माटो र पानीलाई प्रदूषित गरी पर्यावरणमा नकारात्मक असर गरिरहेको हुन्छ । यसको सट्टा बेकिङ सोडा र भिनेगरको प्रयोगबाट तयार गरिने ‘बाथरुम क्लिनर’ पर्यावरणमैत्री हुन्छ ।

प्लास्टिकजन्य सामग्रीको कम प्रयोग गर्नेः

हामीले बाथरुममा धेरै प्रकारका प्लास्टिकका सामानहरू प्रयोग गर्ने गर्छौं । जसले हाम्रो पर्यावरणलाई दुषित बनाउँछ । त्यसैले बाथरुममा प्रयोग गरिने कनेक्सन पाइप, टुथब्रस होल्डर, शावरहरू, प्लास्टिकका कन्टेनरहरूको सट्टा सिरामिक, माटो वा सिसाबाट बनेका सामग्रीहरूको प्रयोग गर्न सकिन्छ ।

पर्यावरणमैत्री सामग्रीहरूलाई प्राथमिकता दिनेः

सामान्यतया बाथरुममा प्रयोग हुने रसायनयुक्त स्याम्पु वा बडी वासको सट्टा, घरेलु सामानबाट बनाइएको क्लिन्जर आदि वा स्याम्पुहरूको प्रयोग गर्न सकिन्छ । यसरी बनाइएको स्क्रब वा क्लिन्जर छाला र वातावरण दुवैका लागि राम्रो हुन्छ ।

बोटबिरुवा रोप्नेः

बोटबिरुवाले बाथरुमको सुन्दरता र हावा शुद्धिकरणमा पनि उत्तिकै योगदान दिन्छ । साथै हावाबाट हानिकारक विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ । सबै बाथरुमको आकार, तापक्रम, प्रकाश र आर्द्रताको स्तर समान हुन्छ भन्ने हुँदैन । त्यसैले यदि बाथरुम उज्यालो छ भने प्रत्यक्ष सूर्यको प्रकाशमा जीवित रहन सक्ने बिरुवाहरू छनौट गर्नु पर्छ । त्यस्तै, अँध्यारो र चिसो छ भने कम तापक्रममा जीवित रहने बिरुवा छनोट गर्नुपर्छ ।

कम रसायनयुक्त रंगको प्रयोग 

घरको बाहिरी भागमा प्रयोग गरिने रंगहरू बाथरुमका लागि उपयुक्त नहुन सक्छन् । किनकी रङमा हुने रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ । त्यसैले बाथरुममा रङ्गरोगन गर्दा कम-VOC (अस्थिर जैविक यौगिक) रंग परम्परागत पेन्ट प्रयोग गर्न सकिन्छ । यसमा कम मात्रामा विषाक्त रसायनहरू हुनेहुँदा मानिस र वातावरणको लागि सुरक्षित हुन्छ । नेपालमा, कम-VOC पेन्ट सहज रुपमा उपलब्ध छ ।  

पानीको किफायती उपयोगः

पानीको किफायती उपयोग गर्ने उपायको रुपमा बजारमा कतिपय उपकरणहरू उपलब्ध छन् । जसले बहाव कम गरी पानीको खपत ३५ प्रतिशतसम्म कम गर्न सक्छन् । यस बाहेक चुहावट भए नभएको नियमित जाँच गर्ने, पानीको मिटर जडान गर्न सकिन्छ । यसले आफूले कति पानी खपत गरिरहेको थाहा हुन्छ । नुहाउँदा कम पानी खपत गर्ने, सावर जडान गर्ने र बाथरुममा कमोड जडान गर्दा डबल फ्लस भएको कमोड प्रयोग गरेर पानीको खपत कम गर्न सकिन्छ । 

पानीको प्रशोधन गर्नेः

हामीले प्रयोग गरेको पानीको ८० प्रतिशत भन्दा बढी पानी फोहोर पानीमा परिणत हुन्छ । यस्ता फोहोर पानी दुई किसिमका हुन्छन् । कालो पानी (दिसापिसाब सहितको चर्पीको फोहोर पानी) र कैलो पानी (भान्छा र बाथरुमबाट निस्कने फोहोर पानी) । यी दुवैथरी पानीलाई सरल तरिकाबाट प्रशोधन गरी पुनः प्रयोग गर्न सकिन्छ । सामान्यतः कैलो पानी प्रशोधन गर्न कृत्रिम सिम्सार जस्ता तरिका अपनाउन सकिन्छ भने कालो पानी प्रशोधन गर्न सेप्टिक ट्याङ्क, बायोग्यास रियाक्टर र कृत्रिम सिमसार जस्ता प्राकृतिक र सरल तरिकाहरू अपनाउन सकिन्छ । यसरी प्रशोधित पानी सरसफाइ तथा सिंचाईको लागि उपयोग गर्न सकिन्छ । त्यसैगरी वर्षाको पानी संकलन गरी प्रयोगमा ल्याउनु सरल र वातावरणमैत्री तरिका हो । यसरी संकलन गरिएको पानी बगैँचा र गाडी सफा गर्नमा प्रयोग गर्न सकिन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

 

प्रतिक्रिया दिनुहोस्
Pin It