Tips & Tricks

बलियो घर बनाउन ‘सिमेन्ट, बालुवा, इँट्टा तथा गिट्टी’ कसरी छान्ने ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । घर निर्माणको क्रममा जग हाल्दादेखि नै प्रयोगमा आउने बालुवा र गिट्टी तथा इँटाहरूको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ । किनकी बलियो संरचनाको आधार भन्नु नै निर्माणमा प्रयोग हुने सामग्रीहरू हुन् । घर निर्माणका लागि गुणस्तरीय ‘बालुवा, इँट्टा र गिट्टी’ जस्ता निर्माण सामग्रीहरू कसरी छान्न सकिन्छ ! चर्चा गरौँ,

सिमेन्ट छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरूः 

अधिकांश संरचना निर्माणमा अनिवार्य रुपमा प्रयोग हुने निर्माण सामग्री हो, ‘सिमेन्ट’ । यसले बालुवा, गिट्टी र रडलाई बलियोसँग बाँधेर राख्‍ने काम गर्छ । बजारमा उपलब्ध सिमेन्टका सबै ब्रान्डहरूले आफूलाई अब्बल दावी गर्नेहुँदा विज्ञसँग परामर्श लिएर नै गुणस्तरीय ब्रान्डको सिमेन्ट प्रयोग गर्नुपर्छ ।

  • ‘सिमेन्ट’ नेपाल गुणस्तर चिन्ह प्राप्त भएको नभएको ध्यानमा राख्नुपर्छ,
  • सामान्यतया उत्पादन भएको मितिबाट २ देखि ३ महिनाभन्दा बढी समय ननाघेको हुनुपर्छ । 
  • समय लेख्दा उत्पादन मितिको छापमा ‘ध्’ भनेको हप्ता, भनेको महिना र ‘थ्’ भनेको वर्ष भनेर लेखिएका हुन्छन् ।
  • डल्ला नपरेको सिमेन्टको प्रयोग गर्नुपर्छ ।  
  • हावा नछिर्ने बोरामा सिमेन्ट प्याक गरिएको हुनुपर्छ । 
  • सुख्खा र हावाले नबिगार्ने ठाउँमा भण्डारण गरिएको र ओसबाट जोगिएको हुनुपर्छ ।
इँटा छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू 

घरमा वाल, कम्पाउन्ड लगाउन, र पार्टेसन गर्नका लागि इँटा प्रयोग गरिन्छ । अधिकांश समय प्रयोग हुने इँटा छनौट गर्दा निम्न कुराहरूमा ध्यानदिनु पर्छः

  • राम्ररी पाकेको चिल्लो सतह भएको इँटा छनौट गर्ने,
  • एउटै आकारको, चिराहरू नपरेको रातो रंगको इँटा छनौट गर्ने, 
  • दुई ईट्टा ठोक्दा धातुको जस्तो गुञ्जिने आवाज आउने हुनुपर्छ । यस्ता इँटाहरू पाकेको र बलियो हुन्छ ।
  • २४ घण्टा पानीमा भिजाउँदा इँट्टाको तौलको १५% भन्दा बढी नबढ्ने हुनुपर्छ ।
  • इँटा ३ फिटको उचाइबाट ठाडो पारी कडा सतहमा खसाल्दा नफुट्ने हुनुपर्छ ।
बालुवा छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू 

कंक्रिट, वाल जोडाई र प्लास्टरको काममा सिमेन्टमा मिसाउन बालुवा अनिवार्य चाहिन्छ । त्यसैले बालुवाको छनोट गर्दा विशेष ध्यान पुर्याउनु पर्छ । 

  • सफा, दानादार र खस्रो बालुवा हुनुपर्छ । बालुवामा धेरै मसिना धुलो र सिल्क अर्थात् टल्किने पदार्थ हुनु हुँदैन । 
  • माटो र घाँसपात मिसिएको बालुवा प्रयोग गर्नु हुँदैन । 
  • खोला, नदी तथा खानीको बालुवा प्रयोग गर्नु राम्रो हुन्छ । 
  • बालुवामा थोरै मात्र चिसोपन भएको र अन्य वस्तु तथा चिल्लोपन र दुर्गन्ध नभएको हुनुपर्छ ।
रोडा तथा गिट्टी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू 

घरको ढलान, पिल्लर वा बिम बनाउँदा सिमेन्ट, डन्डी, गिट्टी, बालुवा र पानीको मिश्रण मिल्नुपर्छ । मिश्रण राम्रो हुन गुणस्तरीय गिट्टीको छनोट उत्तिकै जरुरी देखिन्छ । 

  • गिट्टी सफा र बलियो ढुङ्गा फुटाएर बनाइएको हुनुपर्छ । यस्ता रोडाहरूको सबैतिर चुच्चा धार भएको हुनुपर्छ । खोलाको गोला रोडाहरू राम्रो हुँदैन ।  
  • मसिनो, मध्यम र मोटो सबै किसिम मिसाएर बनेको रोडा प्रयोग गर्नुपर्छ ।
  • एकैनासको रोडा नभइ मिक्स रोडा प्रयोग गर्नुपर्छ । तर १५mm जुन करिब आधा इन्चदेखि २५mm अर्थात् करिब एक इन्चका मिक्स रोडाहरू राम्रा हुन्छन् । 
डण्डी (रड) छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू 

रडलाई घरको बलियोपनसँग जोडेर हेरिन्छ ।  भुकम्प प्रतिरोधि घर बनाउनको लागि सही मात्रामा सही ठाउँमा डन्डी हाल्न अति आवश्यक हुन्छ । 

  • खिया नलागेको, बङ्गयाउँदा नभाँच्चिने, पूरै लम्बाइमा कतै चिरा नपरेको एकनासको मोटाइ वा व्यास भएको लचकदार डण्डीहरूको प्रयोग गर्नुपर्दछ । 
  • दुई पटक बङ्ग्याउदा भाँचिने खालको डण्डी प्रयोग गर्नुहुँदैन ।
  • कम्पनीको छापमा डण्डीको तौल र गुणस्तर उल्लेख गरेको डण्डी प्रयोग गर्नुपर्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It