News

निर्माणाधीन अपार्टमेन्ट वरपरको जमिन भासिँदा आधा दर्जन घर प्रभावित 

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घरहरू भासिएका छन् । एनइ ग्रुप, चौधरी ग्रुप र अमृत रत्न शाक्यको संयुक्त लगानीमा शर्मा कन्ट्रक्सनले निर्माण गरिरहेको अपार्टमेन्ट वरपरका घरहरू शनिबार राती २ बजे भासिएका हुन् । 

मापदण्ड पुरा नगरी निर्माण गरिएको संरचनाको कारण आधा दर्जन घर तथा सँगै रहेको ग्रिनविच होटल प्रभावित भएका छन् । जसमा दुई वटा घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । 

नक्सा पास र स्थानीयको अनुमतिबिना अपार्टमेन्ट बनाउन सुरु गरेपछि वरपरका घर भासिन पुगेको स्थानीयको भनाई छ । कन्ट्रक्सनका कारण घरमा क्षति पुगिरहेको जानकारी गराउदा समेत निर्माण पक्षले बेवास्ता गरेको कारण यो अप्रिय घटना घटेको स्थानीयले बताए । 

जमिन भासिँदा स्थानीयको बसोबास सङ्कटमा परेको भन्दै आवश्यक व्यवस्था र दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

‘द समिट होटल एण्ड रेसिडेन्स’ नाम दिइएको उक्त परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कनपछि करिब ६ अर्बको लगानीमा अपार्टमेन्ट बनाउने क्रम शुरु हुँदा नै वरपरको भूभाग भासियो । 

होटल समिट रहेकै क्षेत्रको १६ रोपनी क्षेत्रमा एक सय २९ वटा कोठा र ४८ वटा अपार्टमेन्ट हुनेगरि निर्माणको योजना अघि बढाइएको थियो । 

तर अहिले १८ रोपनी क्षेत्रफलमा १७ तल्लाको  होटल तथा अपार्टमेन्ट बनाइने भनिएको छ । जसमा १६० युनिट अपार्टमेन्ट र १३० वटा कोठासहितको पाँचतारे होटल हुनेछन् । 

जबकि होटलसहितको समिट अपार्टमेन्ट निर्माणका लागि २०७८ भदौमा वातावरणीय प्रभाव मूल्याङ्कनको लागि स्थानीयवासीसँग सुझाव मागेको थियो । 

सार्वजनिक सूचनामा अपार्टमेन्ट १६ हजार १ सय ९१.१५ वर्गकिलोमिटरको समिट अपार्टमेन्ट निर्माण तथा सञ्चालन गर्ने उल्लेख थियो । 

लगानीकर्ताहरूले सो अन्तर्राष्ट्रिय स्तरको अपार्टमेन्टसँगै पाँचतारे होटल बनाउने र त्यो ‘ब्रान्डेड रेजिडेन्सी’ हुने दाबी गरेका थिए । सेन्ट रेगिज ब्रान्डबाट लक्जरी होटल सञ्चालन गर्ने तयारीसँगै निर्माण कम्पनीले ११ तलासम्मको प्रि-बुकिङ खुला गर्दा सबै बिकेको दाबी गरेको थियो । 

समिट रेसिडेन्सीमा एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ, चौधरी समूहका विनोद चौधरी र अमृतरत्न शाक्यको संयुक्त लगानी रहेको बताइए पनि लगानी स्पष्ट खुलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
Pin It