Research

नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्र: यस्ता छन् अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

Pinterest LinkedIn Tumblr

काठमाडाैं । सामान्यतया नक्सा भन्ने बित्तिकै कुनै निर्धारित कूटनीतिक क्षेत्रले ओगटेको भूभागको चित्र दिमागमा आउँछ । तर नक्सा निश्चित देश, प्रदेशको मात्र नभइ तपाईं हामी बस्ने गरेको घरको समेत हुन्छ  र भूमि विभागमा त्यसको आकार अभिलिखित हुन्छ ।

वैधानिक रुपमा घर निर्माण गर्नका लागि छनौट गरेको जग्गालाई नक्सा पासको प्रक्रियामा लैजानुपर्छ । यदि त्यसो नगरेमा घरलाई अवैधानिक मानिन्छ । घरको नक्सा बनाउनु चित्र कोर्नु मात्रै होइन । घर कस्तो र कसरी बनाउने भन्ने विषयको योजना हो । मुख्यगरी घर कस्तो बनाउने भन्ने कुरा नक्सामा भर पर्छ । 

घरधनीको अवधारण र जग्गाको बनावटका आधारमा इन्जिनियरले नक्सा बनाउने काम गर्दछन् । नक्सामा झ्याल ढोका कहाँ राख्ने, भर्याङ कस्तो, कसरी बनाउने, घरभित्रका सबै कोठामा उज्यालो कसरी पुर्याउने, थोरै ठाउँलाई कसरी उपयोग गर्ने भन्ने स्पष्ट भएपछि मात्रै इन्जिनियरले घरको खाका तयार पार्छ ।

नक्सा पास हुनको लागि इन्जिनियरले नक्सा बनाउँदा पालिकाहरूले तोकेकै मापदण्डको आधारमा बनाउनुपर्छ । नक्साको काम त्यो सम्बन्धी अनुभव भएका सिभिल  इन्जिनियर, आर्किटेक र सिभिल ओभरसियरले पनि गर्न सक्छ । कस्तो घर बनाउने हो त्यसै अनुसारको अनुभव भएको  इन्जिनियर छान्नुपर्छ । 

इन्जिनियरले तयार पारेको नक्सा नगरपालिकामा चेक जाँच हुन्छ । नक्सा निर्माण पश्चात पालिकाद्वारा उपलब्ध गराइने फारममा सम्पूर्ण विवरण भरेर तोकिएको राजश्व शुल्क तिरी नगरपालिकामा निवेदन दिनु पर्छ । राजस्व निवेदन दिएपछि नगरपालिकाबाट  घर बनाउन लागेको स्थल आसपासको कुनै ठाउँमा १५ दिने सूचना टाँस गरिन्छ । 

सूचना मार्फत जग्गाको सिमाना जोडिएका सधिँयारहरुबाट घर बनाउँदा पर्न सक्ने हानी नोक्सानीको व्यहोरा लिइन्छ । बन्न लागेको घरले कुनै नोक्सानी नहुने भनी सधिँयारले हस्ताक्षर गरिसकेपछि नगरपालिकाले वडामा इन्जिनियर पठाउँछ। वडा कार्यालयबाट इन्जिनियर आएर घर निर्माण हुने ठाउँको अवलोकन गर्छन् । आवेदनअनुसार सबै उचित देखिएपछि घर बनाउने ब्यक्तिले डिपिसी सम्मको मात्र बनाउने प्रमाण पत्र पाउँछ ।  

पालिकाको इन्जिनियरले स्वीकृत दिएपछि अस्थायी निर्माण इजाजत पत्र प्रदान गरिन्छ। त्यसपछि निर्माण कार्य सुरु गरिन्छ । काठमाडौं महानगरले दुई चरणमा नक्सा पास  गर्दछ । महानगरले निर्माण इजाजत पत्र प्रदान गरेपछि एकै पटक निर्माण सम्पन्नको आवेदन दिनुपर्छ । 

पालिका अनुसार नक्सा पासको प्रकृया फरक फरक रहेको छ । केही पालिकामा अस्थाई अनुमतिपत्र, स्थाई अनुमतिपत्र र निर्माण सम्पन्नको प्रमाणपत्र दिने व्यवस्था रहेको छ । स्थाई अनुमतिको लागि घरधनीले पालिकामा  डिपिसी सकिएपछि आवेदन दिनुपर्छ । इन्जिनियरहरूले डिपिसी सम्मको निर्माणको अवलोकन गरि नक्सा  अनुरूप भए नभएको हेर्छन् । नक्सा अनुसार निर्माण भएको खण्डमा पालिकाको इन्जिनियरले स्थायी निर्माणको अनुमति दिन्छन्। त्यसपछि नक्सा अनुसार घर बनाउने प्रक्रिया सुरु हुन्छ । 

घर निर्माण सम्पन्न पश्चात फेरी आवेदन दिनुपर्छ । पालिकाको इन्जिनियर आएर घरको अवलोकन गर्छन् र रिपोर्ट बुझाउँछन् । 

नक्सा स्वीकृतिकाे लागि निश्चित क्षेत्रफलको ब्लुप्रिन्ट, ब्लुप्रिन्टमा बाटो नदेखिएको खण्डमा वडाबाट घर–बाटो सिफारिस लिनुपर्दछ। 

नक्सा बनाउने लागत

नक्सा बनाउने लागत घर र इन्जिनियर अनुसार फरक पर्छ । सामान्य घरको नक्सा बनाउन थोरै पैसा लाग्छ भने विशेष किसिमको घर बनाउन केही बढी खर्च लाग्छ । अर्को इन्जिनियरको अनुभवको आधारमा पनि इन्जिनियरले शुल्क लिने गरेका छन् ।

सामान्यतया साढे २ तल्लाको मध्यम खालका घरको नक्सा बनाउन ३० हजार देखी १ लाखसम्म इन्जिनियरहरूले लिँदै आएका छन् । अनुभवी इन्जिनियरसँग परामर्श लिदाँ त्यो भन्दापनि बढि हुनसक्छ ।

नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. जग्गा धनी प्रमाणपत्र ( प्रमाणित )  

२. चालु आर्थिक वर्षकाे मालपोतमा राजश्व तिरेको रसिदको प्रतिलिपि

३. नागरिकता प्रमाणपत्रको ( प्रमाणित ) प्रतिलिपि

४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्सा  ( ब्लुप्रिन्ट ट्रेस )

५. पास गरिने नक्साको फोटोकपी ( डिजाइनर र नक्सावालाको हस्ताक्षर सहित )

६. डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी ( सरोकारवालाबाट प्रमाणित )

७. मञ्जरी लिई बनाउने भएमा नक्सावालाले वडा अक्षयको रोहबरमा भएको मञ्जरीनामाकाे (सक्कल)   

८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहबरमा बाटोको मञ्जरीनामाकाे  (सक्कल)           

९. जग्गा कुनै निकायमा धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र

१०. नक्सावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र   

११. वारिस राखी नक्सा पास गर्ने भए वारिस प्रमाणित प्रतिलिपि    

 तल्ला थप गर्न आवश्यक कागजातहरु

१. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी

२. चालु आर्थिक वर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि

३. अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरू पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It