काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले नागरिकको सुविधालाई मध्यनजर गर्दै घर निर्माण गर्न विभिन्न किसिमका कर्जा उपलब्ध गराउँछन् । बैंकको प्रकृति अनुसार ब्याजदरमा पनि भिन्नता हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी कुन बैंकबाट सस्तोमा घरकर्जा पाइन्छ भन्नेबारे चर्चा गर्दैछौं ।
राष्ट्र बैंकका अनुसार नेपालमा कमर्सियल, डेभलपमेन्ट र फाइनान्स कम्पनी गरी तीन वर्गका बैंकले मात्र घरकर्जा दिन पाउँछन् । ‘क’ वर्गमा पर्छन् वाणिज्य बैंक । ‘ख’ वर्गमा विकास बैंक र ‘ग’ वर्गमा फाइनान्स कम्पनी । लघुवित्त कम्पनीले घरकर्जा दिन पाउँदैन । तर नेपालका सहकारीले पनि घरकर्जामा लगानी गरिरहेका छन् । सहकारीहरूको नियमन राष्ट्र बैंकको कार्यक्षेत्रभित्र पर्दैन । कार्यक्षेत्र नाघेरै भएपनि धेरैजसो सहकारीले घरकर्जा उपलब्ध गराउँछन् । सहकारीहरू कृषि विकास मन्त्रालयभित्र पर्छन् ।
वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैंकहरूको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरूको तुलनामा कम हुन्छ । भने वाणिज्य बैंकको ‘कस्ट अफ फन्ड’(Cost of Fund) विकास बैंक र फाइनान्स कम्पनीको तुलनामा भन्दा कम हुन्छ । साथै वाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीबाट ऋण लिँदा सेवा शुल्कसमेत फरक हुने गर्छ ।
सरकारी बैंक
सरकारी बैंकहरूले कम ब्याजदरको पैसा परिचालन गर्न पाइरहेका हुन्छन् । कतिपय अवस्थामा सरकारी पैसाको ब्याज पनि तिर्न पर्दैन । वाणिज्य बैंकले सरकारी वा चल्ती खातामा चलाउने पैसाको ब्याज तिर्न पर्दैन । तर सरकारी हुँदैमा सबै बैंकको ब्याजदर निजीको भन्दा कम हुने भन्ने हुँदैन।
वाणिज्य बैंक
सामान्यतया वाणिज्य बैंकको ब्याजदरको तुलनामा विकास बैंकबाट घरकर्जा लिँदा २-३ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ४-५ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ । त्यसैले विकास बैंक र फाइनान्स कम्पनीबाट भन्दा वाणिज्य बैंकबाट ऋण लिँदा सस्तो पर्न जान्छ ।
निजी बैंक
निजी बैंकको बेसरेट अलिकति बढी हुनाले ब्याजदर पनि बढी हुन्छ । निजी बैंकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्ने हुँदा ब्याजदर पनि महँगो पर्न जान्छ ।
कसरी निर्धारण हुन्छ ब्याजदर ?
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरूले ब्याजदर निर्धारण गर्न पाउँछन् । आधार दर भन्दा कम कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर लिन पाउँदैनन् । कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।
सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौँ कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरी एक जोडेर ८ प्रतिशत हुने हुन्छ । बेसरेट आजको आजै तल माथि हुँदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फको ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज मात्रामा आउँछ । यदि ठुलो मात्रामा आयो भने कर्जाको ब्याजदर पनि कम हुन आउने हुन्छ । बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरू छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरूको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।
ब्याजदर घटबढ हुनुमा निक्षेपको सहजता मुख्य कारक हो । जब बैंकमा निक्षेप पर्याप्त मात्रामा आउँछ, आधार दर स्वतः घट्छ र कर्जाको ब्याजदर पनि कम हुन्छ । त्यसैले कर्जा लिँदा बैंकको ब्याजदर, कस्ट अफ फन्ड, र आधार दरलाई ध्यानमा राख्नु जरुरी छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।