काठमाडौं । घर किन्ने वा बनाउने लागि बैंक वा वित्तीय संस्थाबाट लिने ऋण नै ‘घरकर्जा’ हो, जसमा घर नै ऋणको सुरक्षा हुन्छ । नेपालमा धेरै बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदर र लचिलो अवधि सहित घरकर्जा सुविधा उपलब्ध गराउँछन् । ऋण लिनुअघि आफ्नो आम्दानी र फिर्ती क्षमता राम्रोसँग मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।
आजको लेखमा घरकर्जा लिन बैंक वा वित्तीय संस्थाबाट कर्जा प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा विस्तृत चर्चा गरिएको छ ।
कर्जाको आवश्यकता निर्धारणः
बैंकले उपलब्ध गराउने कर्जा प्रकार र उद्देश्य फरक हुन्छ । यसो हुँदा कर्जा लिनु अघि तपाईंले कति रकम र कुन उद्देश्यका लागि कर्जा लिने हो भन्ने निर्धारण गर्नुपर्छ । बैंकबाट जग्गा किन्न, घर बनाउन, घर वा अपार्टमेन्ट किन्न, मर्मत सम्भार वा थप निर्माण गर्न कर्जा लिन सकिन्छ ।
हाल राष्ट्र बैंकले तोकेको नियमअनुसार बैंकहरूले धितो मूल्यांकन लोन टु भ्यालू रेसियोको आधारमा ४० प्रतिशतदेखि ७० प्रतिशतसम्म घर कर्जा उपलब्ध गराउँछन् । यसमा कर्जा अवधि र ब्याजदर बैंक अनुसार फरक हुन सक्छ। बैंकहरू आवासीय घर कर्जा योजनामा ६०-७० प्रतिशतसम्म कर्जा दिन थालेका छन् । यसरी, प्रथम पटक कर्जा लिँदा बैंकहरूले घरको मूल्यको लगभग ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था सामान्य मानिन्छ ।
कर्जाको लागि आवेदन प्रक्रिया कस्तो हुन्छ ?
बैंकमा कर्जा आवेदन गर्नका लागि तपाईंले एउटा आवेदन फारम भर्नुपर्छ । जसमा तपाईंको व्यक्तिगत विवरण, कर्जा चाहिएको रकम र प्रयोजन उल्लेख भएको हुनुपर्छ । साथै, नागरिकता प्रमाणपत्र (परिचयपत्र), पासपोर्ट वा ड्राइभिङ लाइसेन्स, बैंक स्टेटमेन्ट, तलब पर्ची, कर विवरण, निवास प्रमाण (जग्गा विवरण वा घर भाडा सम्झौता) र धितो सम्बन्धी कागजात पेश गर्नुपर्छ । सामान्यतया बैंकले ६० वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई मात्र कर्जा दिन्छ । र ६५ वर्ष पुग्नुअघि कर्जा चुक्ता गर्न सक्ने भएमा मात्र बैंकले कर्जा दिने सम्भावना हुन्छ ।
कागजातको समीक्षा र धितो मूल्याङ्कन कसरी गरिन्छ ?
आवेदन प्राप्त भएपछि, बैंकले तपाईंको आर्थिक स्थिति र कर्जा भुक्तानी क्षमतालाई मूल्याङ्कन गर्छ । तपाईंको आम्दानीको स्रोत, मासिक खर्च र किस्ता तिर्न सक्ने अवस्था परीक्षण गर्छ । बैंकहरूले कर्जा दिने क्रममा ऋणीको कुल मासिक आम्दानीको अधिकतम ६० प्रतिशतसम्म मासिक किस्ता हुने गरी ऋण प्रवाह गर्ने नियम अपनाउँछन् । यसको अर्थ, यदि कुनै परिवारको कुल मासिक आम्दानी १ लाख रुपैयाँ छ भने, बैंकहरूले अधिकतम ६० हजार रुपैयाँ मासिक किस्ता तिर्न सक्ने हिसाबले ऋण दिन्छन् । यसले ऋणीको कर्जा भुक्तानी क्षमता सुनिश्चित गर्दै आर्थिक भारलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । साथै, ऋणीको उमेर ६० वर्षभन्दा कम हुनु पर्ने, धितोको मूल्यांकन हुनु पर्ने, र अन्य कागजातहरू पेश गर्नु पर्ने लगायतका शर्तहरू पनि लागू हुन्छन् ।
बैंकले कर्जा प्रदान गर्दा उचित मूल्यांकनको धितो वा सुरक्षण खोज्छ । नयाँ घर बनाउनका लागि वा घर जग्गा खरिद गर्दा प्रायजसो कर्जा लिने ऋणीसँग बैंकले धितोको रुपमा खरिद गरिने घर जग्गा वा निर्माणाधिन घर नै राख्ने गर्छ ।
जसका लागि घर तथा जग्गाको धितोमा राखिने घर जग्गाको कम्तीमा ८ फिट बाटो भएको हुनुपर्छ । यदि निर्माणकर्ताबाट घर तथा अपार्टमेन्ट लिने भएमा निर्माणकर्ता, ऋणी र बैंक बीचको त्रिपक्षीय सम्झौता भएको हुनुपर्छ । साथै, बैंकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी हुनुपर्छ । बैंकमा मान्य हुने जमानी भनेको एकाघर परिवारको सदस्य हुनुपर्छ ।
कर्जाको सीमा र धितो मूल्याङ्कन कसरी गरिन्छ ?
बैंकले कर्जा दिनु अघि, तपाईंको घर वा जग्गाको मूल्यांकन गर्छ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जा १ करोड ५० लाख रुपैयाँसम्म र सोभन्दा माथि गरी दुई भागमा विभाजन गरेको छ । घर वा अपार्टमेन्ट खरिद गर्नका लागि कर्जा लिनुहुन्छ भने, मूल्यांकनको २५% सम्म ऋण पाइन्छ । यदि घरको मूल्यांकन १ करोड रुपैयाँ गरिएको छ भने, २५ लाख रुपैयाँसम्म कर्जा लिन सकिन्छ ।
यस्तै, आवासीय जग्गा खरिदका लागि मूल्यांकनको ४०% सम्म कर्जा पाइन्छ, अर्थात् यदि जग्गाको मूल्यांकन १ करोड रुपैयाँ छ भने, ४० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिन्छ । यदि कर्जा १ करोड ५० लाख रुपैयाँभन्दा माथि लिनुपरेमा बैंकले न्यूनतम मूल्यांकनको ५०% सम्म कर्जा दिन सक्ने व्यवस्था गरेको छ ।
कर्जा आफ्नो आवश्यकता र क्षमता अनुसार बैंकमा प्रस्ताव गर्न सकिन्छ । जसमा बैंकले आम्दानी र भुक्तानी क्षमताको आधारमा निर्णय गरी कर्जा प्रवाह गर्छ ।
धितो मूल्यांकनपछि बैंकले कर्जा स्वीकृत गर्ने निर्णय गर्छ । कर्जा स्वीकृत भएमा कर्जा सम्झौता प्रदान गरिन्छ । सम्झौतामा कर्जा रकम, ब्याज दर, भुक्तानी अवधि र अन्य शर्तहरू उल्लेख हुन्छ । यसमा हस्ताक्षर गरेपछि, कर्जा रकम तपाईंको खातामा स्थानान्तरण गरिन्छ ।
कर्जाको ब्याजदर र अवधि कति हुन्छ ?
आवासीय कर्जा लिँदा, ब्याजदर बैंकको आधारदरमा निर्भर हुन्छ । ब्याजदर बैंकले हरेक तीन महिनामा सार्वजनिक गर्ने आधारदरमा आधारित हुन्छ । उदाहरणका लागि, यदि बैंकको आधारदर ५% छ भने, बैंकले २% प्रिमियम थपेर ७% ब्याजदरमा कर्जा दिन सक्छ । कर्जा अवधि सामान्यतया ३० वर्षसम्म राखिन्छ । यसमा बैंकको नीति र तपाईंको कर्जा रकमको आधारमा केहि फरक पर्न सक्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।