News

कोइला अभावमा हेटौंडा सिमेन्टको उत्पादन ठप्प

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारी स्वामित्वमा हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन रोकेको छ । सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभाव भएपछि उत्पादन बन्द भएको हो । 

कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुने उद्योग प्रशासनले जनाएको छ ।

व्यवस्थापन समितीले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेको थियो । पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको समितिले जनाएको छ । 

एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गतेभित्र सिमेन्ट उत्पादन गर्ने तयारी भइरहेको छ । 

उद्योग व्यवस्थापन समितिका अनुसार गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरिन्छ । उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौं, हेटौंडालगायत सहरमा आपूर्ति हुने गरेको छ ।

उत्पादन क्षमता र बिक्रीसमेत घट्दा पछिल्लो चार वर्षदेखि हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा छ । आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ ।

उद्योगले आर्थिक वर्ष ०७४/७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो । त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष ०७५/७६ मा उद्योगले एक करोड ५ लाख नोक्सानी बेहोरेको उद्योगले ०७६/७७ मा २३ करोड ८२ लाख, २०७७/०७८ मा १७ करोड ४ लाख घाटा खप्नुपर्यो ।

गत आर्थिक वर्षमा उद्योगले १ अर्ब २२ करोड आम्दनी गरेर १ अर्ब ३९ करोड खर्च गरेको बताइएको छ । गत आर्थिक वर्ष उद्योगको घाटा रकम २३ करोड ५५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It