टिप्स

जमरालाई पहेँलो र लहलाउँदो कसरी बनाउने !

Pinterest LinkedIn Tumblr

काठमाडौं । दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा छ । यद्यपि भौगोलिक हिसाबले कुनै ठाउँको तापक्रमअनुसार अन्य दिन पनि जमरा लगाइन्छ ।

जमरा उमार्न मिश्रित अन्नहरूको प्रयोग गरि उमारिने जमरा बिनाको दशैँको अक्षता अपूरो जस्तै देखिन्छ । प्रायः जौ, धान, मकै र गहुँ मिसाएर जमरा राखिने भएपनि शुद्ध जौको प्रयोग गर्नु उपयुक्त मानिन्छ । वैदिक विधिद्वारा हुने सबै पूजामा जौको प्रयोग अनिवार्य मान्ने गरिएको छ ।  

शास्त्रमा उल्लेख भएअनुसार जमरा राखिएको पात्रमा गहुँ तथा जौको अंकुरणसँगै घरमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुन्छ । दशैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन जमराको विसर्जन गर्ने गरिन्छ । 

जमरा राख्दा ध्यान दिनुपर्ने कुराहरूः 
  • शुद्ध बीजको प्रयोग गर्ने ।
  • शुद्ध तथा अँध्यारो स्थानको चयन गर्ने । 
  • जौ तथा, गहुँ, धान, मकैको बीजलाई एउटा भाँडामा आठ देखि १० घण्टासम्म पानीमा भिजाएर राख्ने ।
  • कुनै टपरी/ गमलामा थोरै बालुवा माटो राख्ने । 
  • बीजलाई बालुवा माटोमा बराबर मात्रामा राख्ने ।
  • हरेक दिन पानी हाल्ने । घामको सोझो सम्पर्कमा नराख्ने ।
  • जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हुन्छ ।
जौ र जमरालाई किन यति धेरै महत्व दिइन्छ ?

‘जौ’ सबैभन्दा पुरानो अन्न हो । भगवानको प्रिय अन्न भएकाले पनि जमरामा यसको प्रयोग हुने गरेको पाइन्छ । शास्त्रमा पनि जौलाई निकै महत्व दिइएको पाइन्छ । अधिक पौष्टिक गुणले भरिपूर्ण जौलाई घिउमा मिसाएर हवन गर्दा वातावरणमा रहेको विषालु पदार्थ नष्ट हुन्छ । ६० दिनमा नै फल्ने जौ अनिकाल लाग्दा सबैभन्दा छिटो फल्ने अन्न हो ।

अर्कोतर्फ चिकित्सकहरू भन्छन्, ‘सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउँछ ।’ 

यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति भएको अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानले देखाएको छ । 

अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ । भारतीय चिकित्सकहरूको प्रयोगमा जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको पाइएको छ । 

नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It