Market

गृहमन्त्रि लामिछानेसँग १ रोपनी १ आना पैतृक सम्पत्तिः रास्वपाका अन्य मन्त्रिको नाममा कति?   

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

सम्पत्ति विवरणअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुझाएको सम्पत्ति विवरण यस प्रकार छः

गृहमन्त्रि रवि लामिछानेः

लामिछानेले काठमाडौंमा १ रोपनी १ आना जग्गा (पैतृक सम्पत्ति) र ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार नगद रहेको विवरणमा उल्लेख छ । 

श्रीमती(निकिता पौडेल)को नाममाः 

बुढानीलकण्ठमा ३ करोड ७५ लाख रुपैयाँमा किनेको जग्गा, माइतीबाट प्राप्त १० रोपनी (संगोलमा) जग्गा, गोपिकृष्ण मुभिजको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर रहेको विवरणमा उल्लेख छ । 

त्यसैगरी उनको नाममा ८० तोला सुन, १५.२० किलो चाँदीका भाँडा छन् । सनराइज बैंकमा १५ हजार, नेपाल बैंकमा ५ लाख, एनआईएमबीमा २८ हजार र प्रभु बैंकमा  १० हजार ५११ रुपैयाँ नगद रहेको छ ।

गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको २५ प्रतिशत सेयर रहेको छ जसबाट हालको बजार मूल्यअनुसार ८ करोड ७५ लाख हुन आउँछ । घर कर्जा १ करोड ५० लाख रहेको बताएका छन् । त्यसैगरी लामिछानेले ४२ लाख रुपैयाँको टाटा नेक्सन कार, हालको मूल्य ३ करोड रुपैयाँ पर्ने नारी टिभी र हालको मूल्य १ करोड पर्ने गोपीकृष्ण कामाक्क्षे मिडिया कम्पनी रहेको विवरणमा उल्लेख गराएका छन् । 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठः

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूसँग विभिन्न बैंक तथा सहकारीमा ८३ लाख ७२ हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग १ करोड ९ लाख ८० हजार ५०९ रुपैयाँ बराबर मूल्यको विभिन्न कम्पनीको शेयर, १५ तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा बताएका छन् ।

त्यस्तै, बुवाबाट २० लाख रुपैयाँ लिएको उनले बताएका छन् । जुन उनले ऋण लिएको विवरणमा भरेका छन् ।

उनले एमजी विद्युतीय कार किन्न नबिल बैंकबाट ३० लाख र सनर्जी कओपरेटिभबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएको उनले उल्लेख गरेका छन् ।

८ लाख ५० हजार रुपैयाँमा किनेको ल्यान्डक्रुजर, १९ लाख ५० हजारको एमजी कार र २ लाख ४६ हजारको स्कुटर आफूसँग भएको उनले बताएका छन् । यसैगरी ३ लाख रुपैयाँका विभिन्न कम्पनीका ब्रान्डेड घडीहरू आफूसँग भएको उनले बताएका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठः

शिक्षामन्त्री सुमना श्रेष्ठले आफूसँग करिब ७ करोडको नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनले बुझाएको विवरणअनुसार एनआईसी बैंकमा १ करोड १५ लाख,  एभरेष्ट बैंकमा ३७ लाख, १ लाख ८९ हजार ७ सय अमेरिकी डलर र १ लाख ८० हजार पाउण्ड रहेको छ । सबै गर्दा उनीसँग नगद मौज्दात करिब ७ करोड रुपैयाँ हुन आउँछ ।

यस्तै उनको नाममा काभ्रेमा ८ रोपनी ६ आना ३० पैसा जग्गा छ । यसैगरी उनले आफूसँग ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हिरा, हिराको टप १ सेट रहेको छ । १ लाख ८५ हजारमा किनेको स्कुटर र २० लाखमा किनेको कार रहेको उनले बताएकी छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी)

यसैगरी डीपी अर्यालले १३ ठाउँमा घरजग्गा, १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको सम्पत्ति  विवरणमा राखेका छन् ।

बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् । विभिन्न कम्पनीको गरेर डेढ करोड बराबरको ६७ हजार कित्ता  शेयर रहेको उल्लेख उनले गरेका छन् । २ करोड रुपैयाँ सहकारीमा ऋण रहेको उनले बताएका छन् ।

सम्पत्ति विवरणमा उनले १ करोड २५ लाख रुपैयाँ बराबरको प्राडो कार र  श्रीमतीको नाममा टाटा नेक्सन रहेको उल्लेख गरेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It