News

पाँचखालमा भूमाफियाले ३१ रोपनी जग्गा रातारात व्यक्तिको बनाए, धितो राखेर बैंक पनि डुबाए  

Pinterest LinkedIn Tumblr

काठमाडौँ । काभ्रेको पाँचखालमा ३१ रोपनीभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा मालपोत तथा नापी कार्यालय र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेबमोजिमको स्थलगत मुचुल्का सहितको प्रतिवेदन तयार गर्न पाँचखाल नगरपालिकाका जनप्रतिनिधि मालपोत र नापीका कर्मचारीसहित मंगलबार फिल्डमा पुगेका हुन् ।

पाँचखाल नगरपालिकाका जनप्रतिनिधि मालपोत र नापीका कर्मचारीसहित मंगलबार फिल्डमा 

अरनिको राजमार्गसँग जोडिएको कित्ता नम्बर ४ सय ८६ को १५ रोपनी ३ आना र कित्ता नम्बर २ सय ७३ को १६ रोपनी १० आना जग्गा २०४८ सालमा डुन्डप्रसाद अधिकारीको नाममा नामसारी भएको उजुरी परेपछि अख्तियारले स्थलगत मुचुल्का सहितको प्रतिवेदन माग गरेको थियो । माघ १६ गते पाँचखालका ११५ जनाले उजुरी दिएपछि अख्तियारले भदौ २१ गते नगरपालिकालाई प्रतिवेदनका लागि पत्र पठाएको थियो । अख्तियारको पत्रपछि नगरपालिका कार्यालय मालपोत र नापीका कर्मचारी लिएर अध्ययनका लागि पाँचखाल गएको थियो । उजुरीअनुसार अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएपछि स्थानीय उत्साहित भएका छन् ।

मालपोतको कागजातले सो सार्वजनिक जग्गा डुन्डप्रसाद पछि विभिन्न आठ व्यक्तिका नाममा नामसारी भएको देखिएको छ । स्थानीय जनप्रतिनिधि पनि अहिले व्यक्तिका नाममा देखिएको जग्गा सार्वजनिक नै भएको बताउँछन् । स्थानीयले समेत सो जग्गा खेलमैदानको रूपमा प्रयोग हुँदै आएको बताएका छन् । 

सार्वजनिक जग्गा व्यक्तिका नाममा छुट दर्ता भएको कागजात भेट्दा पनि मालपोतका कर्मचारीले भने मुचुल्कामा हस्ताक्षर गर्न मानेनन् । सार्वजनिक जग्गा कित्ताकाट हुँदै र किनबेच हुँदै प्रजिन्तराज जोशीका नाममा आइपुगेको केही जग्गा सिन्धु विकास बैंकले भोगचलन गर्न खोजेपछि यो प्रकरण बाहिरिएको थियो । जोशीले कित्ता नम्बर २८ सय ८३ को ४ रोपनी १४ आना २ पैसा जग्गा धितो राखेर सिलसिला ट्रेडर्सका नाममा सिन्धु विकास बैंकबाट कर्जा लिएका थिए ।

तर, उनले कर्जा तिरेनन् । त्यसपछि बैंकले लिलामीका लागि सूचना निकाल्यो । कसैले लिलाम नसकारेपछि २०७८ असोज ४ गते बैंक आफैँले लिलाम सकार्यो । अहिले जग्गा सम्याएर भोगचलनका लागि बैंक अग्रसर भएपछि स्थानीयले विरोध गर्नुका साथै अख्तियारमा उजुरीसमेत दिएका थिए ।

 एजेन्सीबाटः 

प्रतिक्रिया दिनुहोस्
Pin It