News

पाँच करोड लगानीमा दरबारमार्गलाई नयाँ रूप दिँदै महानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘पर्यटकीय हब’ दरबारमार्ग क्षेत्रको स्वरूप बदल्ने भएको छ । महानगरले ५ करोड खर्च गरेर हाल भएको दरबारमार्गको स्वरूप बदल्न लागेको हो । यसअघि दरबारमार्गबाट पार्किङ हटाएर कामको सुरुवात भइसकेको महानगरले जनाएको छ । 

थप सुधारका लागि टेन्डरसमेत भइसकेको महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभागले जनाएको छ ।  दरबारमार्गलाई सौन्दर्यीकरण गर्न भन्दै फागुन ८ मा  महानगरले आह्वान गरेको थियो । सौन्दर्यीकरणको डिजाइन तयार भइसकेको हुँदा बाँकी काम वैशाखबाट हुने महानगरले जनाएको छ ।  

दबारमार्ग क्षेत्रको फुटपाथ पुनर्निर्माण, साना बगैँचा निर्माण, नयाँ ढल, बाटो, सडकबत्ती जडान, बाटोको दुवै साइडमा लाइटिङमा पाँच करोड रुपैयाँ खर्च हुनेछ । 

महानगरले फुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ । मौसमअनुसारको फूल लगाएर गार्डेनिङ, ग्रेनाइट पनि बिछ्‌याइने महानगरले जनाएको छ ।  

संघीय राजधानीका मुख्य व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगल देखि त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
Pin It