Lifestyle

गणेश चतुर्थीलाई किन दिइन्छ विशेष महत्व, यस्ता छन् कारणहरू 

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । गणेश चतुर्थी तिजको भोलिपल्ट अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन मनाइन्छ । यस दिनलाई विनायक चतुर्थी पनि भन्ने गरिन्छ । तराईमा यस दिनलाई चौथी चाँद भन्ने चलन छ । पण्डाल अर्थात् अस्थाई मन्दिरमा गणेशको माटोको मुर्ति राखेर पुजा गर्ने गरिन्छ । पुजा अर्चना पछि गणेशको मुर्तिलाई खोलामा सेलाउने गरिन्छ । 

गणेश चतुर्थीको महत्वः

गणेश चतुर्थीलाई नेपाल, भारत, फिजि, मरासस लगायत अमेरिका र युरोपका धेरै देशहरूमा भएका हिन्दु सनातन समुदायले रौनकका साथ मनाउने गर्दछन् । विभिन्न १०८ नामले परिचित श्री गणेशलाई कला, साहित्य र सीपका देवताको रुपमा पुजा गरिन्छ । 

हरेक शुभकार्यको थालनी गर्नु पूर्व गणेशलाई सम्झिएर पुजा आरधना गर्ने प्रचलन रहेको छ । जसले कुनैपनि कार्यलाई पूर्णता प्रदान गर्दछ । यसो हुँदा सनातन हिन्दु संस्कारमा कुनै पनि कार्यको थालनी गर्नुलाई श्रीगणेश भन्ने गरिन्छ । शुक्ल चतुर्थीदेखि अनन्त चतुर्थीसम्म गणेश-अर्चना दश दिनका लागि हुने गर्दछ । 

गणेश चतुर्थीको अर्को महत्वपुर्ण पक्ष आजको चन्द्रमामा भएको दोष हो । एक किम्बदन्ती अनुसार गणेश चतुर्थीको चन्द्रमा हेर्नाले चोरीको आरोप लाग्ने गर्दछ भन्ने गरिन्छ । आजको दिन छिमेकिको बारीमा फलेको फलहरू चोरेर खाएमा दोष निवारण हुन्छ भन्ने विश्वाश छ । 

उपद्रोको रूपमा लिने गरिएको यस चाडलाई तराईमा हर्ष उल्लासका साथ मनाइन्छ । गाउँ घरको बीचमा माटाको घैटो डोरिले बाँधेर झुन्ड्याउने गरिन्छ । त्यस भित्र फलफूल, मिठाइ र दहि, दुध राख्ने र उचाइमा चढेर नरिवल वा लौरीले हानेर फुटाउने चलन छ । 

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नवाधा नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरिन्छ । मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रमा उल्लेख छ । यसै अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

नेवारीमा चथा पर्वः

नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यो परिकार भटमास, चना, मकै गहूँ बकुल्ला र बदाम लगायतका गेडागुडीलाई रोस्ट गरेर तयार गरिन्छ । आपसमा बाँडेर खानुअघि गणेशलाई चढाउने प्रचलन छ ।

२०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It