News

कोठा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो दिँदै सरकार, फारमका लागि अब ८ दिन मात्रै बाँकी

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका विद्यार्थीलाई नि: शुल्क विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । उपत्यका बाहिरका भाडामा बस्दै आएका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत आवेदन खुला गरेको हो । सरकारी शिक्षण संस्था तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस्तो कार्यक्रम ल्याएको हो । 

अहिले खाना पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँ पर्न थालेको छ । एलपी ग्यासको बढ्दो मूल्यको समस्याबाट राहत महसुस गराउन तथा विद्युतीय चुलोलाई प्रवर्द्धन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो । ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विद्युतीय सामाग्री प्रति आम सर्वसाधारणको समेत आकर्षण बढ्न थालेको छ । 

यस अघि पनि केन्द्रले अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका विद्यार्थीका लागि निःशुल्क विद्युतीय चुलो बाँड्ने भन्दै निवेदन मागेको थियो । त्यसका लागि करिब १० हजार आवेदन परेका थिए ।

तर त्यो बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडिसकेको भने छैन । यद्यपि अघिल्लोपटक निवेदन दिएका विद्यार्थीले फेरि निवेदन दिन नपाउने केन्द्रले जनाएको छ । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरि केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

जेठ २५ बाट खुला गरिएको आवेदन असार ९ गते बन्द हुनेछ । इच्छुक विद्यार्थीले आवेदन दिनका लागि वैकल्पिक उर्जा केन्द्रको प्राविधिक वेबसाइटमा गई अपडेटको सूचनामा गइ गुगल फारम भर्न सक्नेछन् । सो फारम भरेर पेश गरेपछि तपाईंले फारम भर्दा राखेको मेल ठेगाना (gmail) मा टोकन नम्बर आँउछ । त्यो टोकनसँगै आवश्यक कागजातहरू कार्यलयमा गएर बुझाउनु पर्छ । 

फारम भर्न आवश्यक कागजातहरूः

  • नेपाली नागरिकताको प्रतिलिपि, 
  • शैक्षिक संस्थाको सिफारिस र परिचय पत्र अर्थात् आई डि कार्ड,
  • लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि,  

विद्यालयबाट पाइने सिफारिसको फर्म्याट वेबसाइटमा पाउन सकिन्छ । सो लिङ्कबाट फर्म्याट डाउनलोड गरि प्रिन्ट गरेर कलेज प्रिन्सिपलबाट हस्ताक्षर गराउनु पर्दछ ।  त्यस्तै लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस पत्र आवश्यक पर्दछ ।

गुगल फारम मात्र भरेर थप कागजातहरू कार्यलयमा नबुझाएमा आवेदन स्वत: खारेज हुनेछ । आवेदन बुझाइसकेपछि विभागले आवश्यक चेकजाँच गरि वितरण गर्ने जनाएको छ ।

यी सबै कागजात र टोकन सहित वैकल्पिक ऊर्जा प्रवर्द्धनको कार्यालय मध्यबानेश्वरमा गई फारम बुझाउनु पर्दछ ।  असार ९ गते बाट आवेदन बन्द भइसकेपछि आवेदनका आधारमा टेन्डर आह्वान गर्ने हुनाले विद्युतीय चुल्हो वितरण हुन करिब साढे ४ महिना लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It