News

भ्रष्टाचार गरेर करोडौंको घरजग्गा खरिद

Pinterest LinkedIn Tumblr

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकर राजभण्डारीले भ्रष्टाचारबाट आर्जित सम्पत्तिबाट विभिन्न क्षेत्रमा लगानी गरेको खुलेको छ । राजभण्डारीले आफू महानिर्देशक रहेको बेला  पदीय दुरुपयोग गरी  घरजग्गा खरिददेखि कम्पनी खोल्ने गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको हो । 

पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७९ भदौ १३ मा अख्तियारमा राजभण्डारी विरुद्ध उजुरी परेको थियो । उजुरीमा राजभण्डारीले विभागमातहत अघि सारिएका आयोजना/योजनामा एक प्रतिशत घूस लिने गरेको, सरुवामा पनि लेनदेन गरेको, आयोजनाका लागि थप बजेट माग्दा २ देखि ५ प्रतिशतसम्म कमिसन बुझ्ने गरेको लगायत आरोप समावेश थिए ।

सोही उजुरीको छानबिनका क्रममा राजभण्डारीको २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्मको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो । 

राजभण्डारीले पत्नी दीपा श्रेष्ठको नाममा ललितपुरमा ९३ लाख ८२ हजार ५ सयमा सात आना २ पैसा ३ दाम जग्गा खरिद गरेको र यी जग्गाको स्रोत नखुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

त्यस्तै, राजभण्डारीले आफू र पत्नीका नाममा घोराही र तुल्सीपुरमा पनि जग्गा किनेका थिए । टरिगाउँमा ३४ लाख ५० हजार ५ सय, २ लाख ६६ हजार ४ सय ७ र ४ लाख ९६ हजार ३ सय ७५ मा जग्गा खरिद गरेका थिए । 

यो मालपोतमा देखाइएको न्यूनतम मूल्य भएकाले जग्गाको चलनचल्तीको मूल्य करोडौं रहेको अनुसन्धानबाट खुलेको छ ।  

चन्द्रागिरिमा रहेका केही घरजग्गाको पनि स्रोत नखुलेको हुँदा यी घरजग्गा मुद्दाको सुनुवाइ नभएसम्म बेचबिखनमा रोक लगाइएको छ । 

त्यसैगरी, राजभण्डारीले घुष लिएको रकमबाट विभिन्न जिल्लामा गरिएको जग्गा खरिद, छोराछोरीको शैक्षिक खर्च, बिमाको प्रिमियम भुक्तानी, सञ्चयकोषबाट लिएको कर्जा चुक्तालगायत आर्थिक कारोबार गरेको अख्तियारले जनाएको छ । 

राजभण्डारीले सेवा प्रवेशयता गरेका आर्थिक कारोबार, आम्दानी र खर्चमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँको स्रोत खुलेको देखिँदैन ।

अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसमा स्रोत नखुलेको रकम बराबर नै जरिवाना, स्रोत नखुलेको सम्पत्तिले बढे/बढाइएको जायजेथा जफत र कैद सजाय माग दाबी गरिएको छ ।

सम्पत्ति जफत र बिगो/जरिवाना भराउने प्रयोजनका लागि राजभण्डारीकी पत्नी दीपालाई पनि प्रतिवादी बनाइएको छ ।

शाखा अधिकृत (छैटौं) बाट २०५१ फागुन ३० मा सरकारी सेवा प्रवेश गरेका इन्जिनियर राजभण्डारीले २०७८ चैत १४ मा अनिवार्य अवकाश पाएका थिए । सेवामा रहँदा विभिन्न तहमा १६ वटा कार्यालयमा बसेका उनी २०७६ देखि २०७८ साउनसम्म जलस्रोत तथा सिँचाइ विभागमा महानिर्देशक थिए ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It