काठमाडौं । सुक्खा र हावाहुरी चल्ने याममा आगलागीका धेरैजसो घटनाहरू घट्ने गर्छन् । यस्तो याममा सानो आगोको झिल्कोबाट भीषण आगलागी हुने खतरा हुन्छ । यो समयमा आगोजन्य चिजहरू प्रयोग गर्दा होसियार हुन आवश्यक छ । अन्यथा ठूलोमात्रामा धनजनको क्षति ब्यहोर्नु पर्ने हुन्छ । कुरा गरौं, आगलागीका कारण र रोकथामका उपायहरूको बारेमाः
कस्तो अवस्थामा आगलागी हुन्छ ?
- बिजुलीको तार सर्ट हुँदा,
- खाना पकाउने ग्यास लिक भई आगो लाग्दा,
- एक स्थानमा बालेको आगो अन्यत्र सल्किँदा
- सलाई, लाइटरको लापरबाहीपूर्ण प्रयोग गर्दा,
- लामखुट्टे धपाउन भुस बाल्दा,
- सवारी साधनमा अचानक आगो लाग्दा,
- धान/गहुँ झार्न थ्रेसरको प्रयोग गर्दा,
- चट्याङ पर्दा, इत्यादि ।
आगलागी रोकथामका उपायहरू
हामीले सतर्कता र सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै कुनै बेला आगलागी हुन सक्दछ । यस्तो अवस्थामा आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीहरूलाई जानकारी गराउनु पर्दछ । यसबाहेक आगलागी रोकथामका लागि निम्नानुसारका उपायहरू अपनाउन सकिन्छ-
आगोका मुख्य स्रोतहरूको सुरक्षित प्रयोगः
आगलागी हुन नदिन आगोका मुख्य स्रोतहरूको सुरक्षित प्रयोग गर्नुपर्छ । र यस्ता वस्तु बालबालिकाले भेट्ने ठाउँमा राख्नु हुँदैन । बल्दै गरेको मैनबत्ती हिटर चुल्हो जस्ता आगो सल्किइरहेका वस्तुहरू निभाएर मात्र छाड्नुपर्छ ।
विद्युतिय सामग्रीको सुरक्षित प्रयोगः
आजभोलि विद्युतीय सामग्रीहरूका कारण धेरै आगलागीको घटना हुने गरेको छ । त्यसैले घरमा भएका विद्युत उपकरणहरू, तार, स्विच, एक्सटेन्सन कर्ड सही अवस्थामा छ/छैन नियमित जाँच गर्नुपर्छ ।
स्मोक डिटेक्टरको अनिवार्य प्रयोगः
हरेक घरमा प्रत्येक तलामा कम्तिमा एउटा धुवाँ पत्ता लगाउँने यन्त्र स्मोक डिटेक्टर जडान गर्नुपर्छ । स्मोक डिटेक्टरले आगो लाग्दा सूचना दिन्छ ।
फायर इक्सटिङ्ग्विसरको अनिवार्य प्रयोगः
यो आगो निभाउने एक प्रकारको मेकानिकल यन्त्र हो । यसले आगलागीको सुरुवाती अवस्थालाई नियन्त्रण गरी जन–धनको थप क्षति हुनबाट रोक्न सकिन्छ ।
नेपाल प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा १० हजार आगलागीका घटनाहरू भएका छन् । ती घटनामा ३ सय ५ जनाको मृत्यु र १ हजार ५ सय ७७ जना घाइते भएका छन् । यस अवधिमा ५ हजार ६ सय ७० घर, ६ सय ९१ चौपाया र १ हजार सात सय ५१ गोठ जलेर नष्ट भएका छन् । आ.व. २०७३/०७४ मा १ हजार ५ सय ४१, २०७४/०७५ मा १ हजार ७ सय ९२, २०७५/०७६ मा २ हजार ३ सय ३९, २०७६/०७७ मा २ हजार ८ सय ५३ र २०७७/०७८ मा २ हजार ८ सय ५३ आगलागीका घटनाहरू भएका छन् ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।