News

काठमाडौं-तराई फास्ट ट्रयाकको २१ प्रतिशत भौतिक प्रगति

Pinterest LinkedIn Tumblr

काठमाडौं ।  राजधानीलाई तराईसँग जोड्ने निजगढ-काठमाडौं फास्टट्रयाक निर्माणको कामले तीव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको फास्टट्रयाक हालसम्म २१ दशमलव ६४ प्रतिशत भौतिक प्रगति भएको निर्माण पक्ष नेपाली  सेनाले जनाएको छ ।

दुई वर्ष अघि पाइलट ट्रयाक खोल्ने काम सम्पन्न भएको उक्त फास्टट्रयाक निर्माणको काम  २०८१ को मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्यसहित भइरहेको छ  ।

निर्माणको जिम्मा  पाएको नेपाली सेनाले ०७६ भदौ १ मा डीपीआर स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । फास्टट्रयाकमा १६ वटा विशेष पुल सहित ८६ वटा पुल निर्माण गर्नुपर्ने छ । ८६ वटा पुलको कूल लम्बाइ करिब १० दशमलव ५ किमि हुनेछ । हाल पुल निर्माणको लागि जमिनमुनिको काम भइरहेको छ । 

७२ दशमलव ५ किमि सडकखण्डलाई विभिन्न ११ वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो । त्यसमध्ये ७ वटा प्याकेजको ठेक्का सम्झौता भइसकेको छ । भने हालसम्म तीनवटा सुरुङ खन्ने काम समेत सुरु भइसकेको छ । महादेव डाँडामा दुवैतर्फको गरी करिब ५ सय ८० मिटर भन्दाबढी सुरुङ खन्ने काम सम्पन्न भएको छ । 

महादेव डाँडामा सबै भन्दा लामो ३ दशमलव ४४  किमिको सुरुङ रहने छ । लेनडाँडामा १ दशमलव ६२ किमि र धेद्रे डाँडामा १ दशमलव ६९ किमि लम्बाईको सुरुङ बनाइनेछ । 

फास्टट्रयाक १३ मिटर चौडाइ र ८ मिटर उचाइका दुई वटा सुरुङ निर्माण हुनेछन् । एकातर्फ आउने र अर्कोतर्फ जाने अलग अलग सुरुङ निर्माण भइरहेको छ । गत सेप्टेम्बरबाट सुरु भएको लेनडाँडाको निकाशमार्ग तर्फ हालसम्म १ सय ८४ मिटर सुरुङ खन्नेकाम भएको छ । 

प्रवेश र निकास दुवैतर्फ सुरुङ खन्ने काम भइरहेकोले निर्धारित समयमै काम सकिने आयोजना पक्षले अपेक्षा राखेको छ ।

कोरियन कम्पनी युनिस जेभीले डिजाईन तथा सुपरभिजन गरिरहेको फास्टट्रयाकको ४ हजार ७ सय ८० रोपनीको मुआब्जा वितरण भइसकेको छ । भने काठमाडौंको खोकना क्षेत्रमा ३ सय ९२ रोपनीको जग्गा मुआब्जा वितरण कार्य बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It