News

फेक न्यूज अलर्टः तत्काल काठमाडौं प्लाजाबाट महानगरका सबै सेवा नपाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षभित्रै कमलादीस्थित काठमाडौं प्लाजाबाट सेवा दिने भएको छ । छरिएर रहेका महानगरका सबै विभागलाई एकीकृत गर्ने उद्देश्यले कार्यालय प्लाजामा सार्न लागिएको हो । 

महानगरले नयाँ वर्षदेखि एकै स्थानमा सेवा दिने भनेर बाहिरिएका समाचारमा सत्यता नभएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार, हाल प्लाजामा सरसफाइ, इन्टरनेट सेटअप, कोठा विभाजन लगायत अन्य काम भइरहेको छ । 

‘हामीले सबै विभागलाई सार्न निर्देशन दिएका छौं । प्रशासन विभाग यही हप्ताभित्र सर्नसक्छ र क्रमिक रुपमा मर्मत सकिएसँगै विभागमा सर्नेछन् । अन्य विभाग पनि चाँडै स्थानान्तरण गरी एकै स्थानबाट सेवा दिने तयारी भइरहेको छ’ उनले भने । 

नेपाल ट्रष्टको स्वामित्वमा रहेको प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच चैत ८ गते सम्झौता भइसकेको छ । महानगर स्वयंले प्लाजामा बिग्रिएका र भत्किएका झ्याल, ढोका र लिफ्टलगायत संरचनाको मर्मर गरिरहेको छ । यद्यपि मर्मत सम्भारका लाग्ने खर्च बहाल रकमबाट कटाउने सम्झौता भएको मानन्धरले बताए । 

हाल कहाँकहाँ छन् त महानगरका विभाग ! 

हाल महानगरको १४ विभागिय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन् । महानगरको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन विभाग महानगरको पुरानो भवन जेडिए कम्प्लेक्स सुन्धारामा छ । सोही भवनमै अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, सार्वजनिक खरिद एकाइ, आन्तरिक लेखापरीक्षण, पञ्जिकरण तथा नाता प्रमाणित एकाइ सहरी सुव्यवस्था एकाइ छ । 

जेडिए कम्प्लेक्स अगाडि रहेको बागदरबारमा न्यायिक समिति, नगर प्रहरी महाशाखा छ । बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा महानगरको सामाजिक विकास विभाग, विपद् व्यवस्थापन विभाग, सूचना प्रविधि महाशाखा, महिला बालबालिका महाशाखा, सार्वजनिक–निजी साझेदारी एकाइ, सम्पदा तथा पर्यटन विभाग र सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन महाशाखा छ । 

बबरमहलको कर कार्यालयअगाडि महानगरको राजस्व विभाग, निर्माण इजाजत विभाग, सहरी पूर्वाधार विकास विभाग छ । सूचना प्रविधि विभाग (मेट्रो एफएमसहित), जिन्सी शाखालगायतका कार्यालय राष्ट्रिय सभागृहमा र शिक्षा विभाग ताहाचलमा छ । 

महानगरका अनुसार वातावरण विभाग, चःमती जग्गा एकीकरण आयोजना, मनोहरा जग्गा एकीकरण आयोजना र नयाँबजार जग्गा एकीकरण आयोजना टेकुमा छ । सहकारी कार्यालय बिजुलीबजार र सहरी योजना आयोगले थापाथलीबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It