काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (EV) को प्रयोग बढ्दै गएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मासिक औसतमा ८८५ हाराहारीमा इभी आयात हुन्छ । इन्धनको खर्चमा कटौती, वातावरणमैत्री, र प्रविधिमैत्री भएका कारण पनि नेपालमा इभीले लोकप्रियता पाएको हो ।
नेपालमा विद्युतीय सवारीसाधन (EV) को प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा, घरमै चार्जिङ सुविधा उपलब्ध गराउनु एक सुविधाजनक र आवश्यक विकल्प बनेको छ । तर, यो सजिलो विकल्पलाई सुरक्षित बनाउनु अझै महत्वपूर्ण छ ।
घरको सामान्य वायरिङमा EV चार्जर जडान गर्दा आगलागी, करेन्ट लाग्ने वा उपकरण बिग्रिनेजस्ता गम्भीर दुर्घटना निम्तिन सक्छन्। सस्तो मिस्त्री वा कम गुणस्तरीय उपकरणको प्रयोगले क्षणिक बचत त देखिन सक्छ, तर दीर्घकालीन जोखिम निकै भयावह हुन सक्छ । आजको लेखमा घरमै EV चार्जिङ पोइन्ट लगाउँदा अपनाउनुपर्ने सुरक्षा उपायबारे चर्चा गरिएको छ ।
EV चार्जिङ पोइन्ट राख्दा अपनाउनु पर्ने सुरक्षाका उपायहरू
१. छुट्टै सर्किट र ब्रेकर सिस्टम राख्ने
EV चार्जरले एकदम धेरै बिजुली तान्छ । घरको सामान्य मोबाइल, पंखा वा फ्रिज चलाउन प्रयोग गर्ने सकेटबाट चार्ज गर्दा वायरिङले थेग्न सक्दैन । यस्तो अवस्थामा तार पग्लिने, शट सर्किट हुने र घरमा आगलागी समेत हुन सक्छ । त्यसैले EV चार्जिङका लागि छुट्टै डेडिकेटेड सर्किट आवश्यक हुन्छ । अर्थात् चार्जरको लागि मात्र छुट्टै तार, ब्रेकर र सप्लाइ लाइन आवश्यक हुन्छ ।
यसमा MCB (Miniature Circuit Breaker) जडान गर्नुपर्छ । MCB एउटा सुरक्षा उपकरण हो; जसले बिजुलीमा लोड बढी भएमा वा शट सर्किट हुँदा तुरुन्तै पावर सप्लाइ काट्ने काम गर्छ । जसले घर र उपकरणलाई सुरक्षित राख्छ।
साथै RCCB (Residual Current Circuit Breaker) पनि जोड्नुपर्छ । यो मान्छेलाई करेन्ट लाग्न नदिन बनाइएको स्वचालित सुरक्षा स्वीच हो । यसले करेन्ट लिक भएमा, भिजेको हातले प्लग छोएमा, तुरुन्त सप्लाइ बन्द गर्छ ।
२. ग्राउन्डिङ प्रणाली मजबुत बनाउने
ग्राउन्डिङ प्रणाली भनेको विद्युत प्रणालीलाई जमिनसँग सुरक्षित तरिकाले जोड्ने प्रक्रिया हो । यसको मुख्य उद्देश्य करेन्ट लिक भएमा करेन्ट मान्छे वा उपकरणमा लाग्न नदिई जमिनतर्फ पठाउनु हो । जब बिजुली प्रवाहमा कुनै खराबी आउँछ त्यतिबेला मानिसलाई करेन्ट लाग्ने सम्भावना हुन्छ । यस्ता दुर्घटनाबाट जोगाउन ग्राउन्डिङले निकै ठूलो भूमिका खेल्छ ।
ग्राउन्डिङका लागि एउटा फलाम वा तामा (Copper) को ग्राउन्ड रडलाई जमिनमा गहिरो गाडिन्छ । जुन घरको विद्युत प्रणाली वा उपकरणहरूसँग तारद्वारा जोडिन्छ । यदि सिस्टममा करेन्ट लिक भयो भने त्यो करेन्ट यो ग्राउन्ड तारबाट हुँदै जमिन तर्फ बग्छ । र करेन्ट लागेर घाइते हुने वा आगलागी हुने जोखिमबाट जोगिन्छ ।
३. पानी र आगो प्रतिरोधी (Waterproof/Fire-Resistant) सामग्री प्रयोग गर्ने
अधिकांश घरहरूको पार्किङ वर्षाको पानी, धुलो, चिसो वा घाम सिधै लाग्ने स्थानमा हुन्छ । यस्तोमा चार्जिङ पोर्ट सजिलै भिज्ने र चार्जरमा शट सर्किट हुने, करेन्ट लिकेज वा आगलागी जस्ता गम्भीर दुर्घटना निम्तिन सक्छन् । त्यसैले EV चार्जिङ पोइन्ट जडान गर्दा IP65 वा सोभन्दा माथिको ‘Ingress Protection’ रेटिङ भएको वाटरप्रूफ चार्जिङ युनिट प्रयोग गर्नुपर्छ । IP65 ले पानी र धुलोबाट चार्जरलाई पूर्ण रुपमा सुरक्षित राख्छ ।
त्यसैगरी, चार्जिङ पोइन्ट बनाउँदा प्रयोग गरिने सामग्रीहरू पनि आगोप्रतिरोधी हुनुपर्छ । आगो प्रतिरोधी सामग्रीले अत्यधिक ताप आउँदा सजिलै आगो समाउँदैन र आगलागीको जोखिम कम गर्छ । त्यसैले सुरक्षाका दृष्टिले चार्जिङ युनिट छनोट गर्दा यसको पानी प्रतिरोधि (waterproof) क्षमतासँगै आगो प्रतिरोध गर्ने गुण पनि अनिवार्य रूपमा ध्यान दिनुपर्छ ।
४. अनुभवी र प्रमाणित इलेक्ट्रिशियनबाट जडान गर्ने
EV चार्जिङ पोइन्टको जडान गर्नु सामान्य घरको वायरिङजस्तो सहज हुँदैन । उच्च भोल्टेज हुने हुँदा अनुभवी प्रोफेसनलको आवश्यक पर्छ । दक्ष र प्रशिक्षित व्यक्तिले जटिल प्रणालीको जडान गर्दा गम्भीर त्रुटिहरू हुनसक्छन् । जसको दीर्घकालीन असर घातक हुन सक्छ । त्यसैले EV चार्जिङ पोइन्टको जडान गर्दा सम्बन्धित निकायबाट प्रमाणित इलेक्ट्रीसियन वा EV टेक्निसियनबाट मात्र जडान गराउनु आवश्यक छ ।
५. प्रमाणित चार्जिङ उपकरण प्रयोग गर्ने
EV चार्जिङका लागि प्रयोग गरिने उपकरणहरू उच्च करेन्ट र भोल्टेज झेल्न सक्ने, गुणस्तरीय र सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ । सो मापदण्ड राष्ट्रिय वा अन्तर्राष्ट्रिय निकायहरूले तय गरेका हुन्छन् । जसले तपाईंको EV चार्जिङ प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँछ ।
निष्कर्षः
बिजुलीमैत्री भविष्यतर्फ लम्कँदा, हामीले प्रविधिको प्रयोग मात्रै होइन, त्यससँग सम्बन्धित सुरक्षा सचेतनालाई पनि साथसाथै अघि बढाउनु आवश्यक छ । त्यसैले, तपाईं EV प्रयोगकर्ता हुनुहुन्छ र घरमै चार्जिङ पोइन्ट राख्ने सोचमा हुनुहुन्छ भने, सुरक्षालाई कहिल्यै हल्का रुपमा नलिनुहोस् ।
अन्ततः विद्युतीय सवारीसाधनले भविष्य उज्यालो बनाउला; तर त्यो उज्यालो सुरक्षित होस् भन्ने सुनिश्चितता तपाईंको निर्णयमा भर पर्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।