News

वडाको अतिक्रमणमा पुङ्गीखोलाः १ करोड लगानीमा पार्क बनाइदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने  पुङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । खोला अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने क्रम बढेको पाइएको हो ।

अतिक्रमण नियन्त्रणका लागि भरतपुर महानगरपालिकाले खोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएर सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको छ । हाल समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । सीमाङ्कनको काम एक महिनाभित्र सकिने बताइएको छ ।

समितिले आधाभन्दा बढी क्षेत्र नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको जनाइएको छ । 

वडा कार्यालयदेखि विभिन्न क्लबले समेत पुङ्गीखोला अतिक्रमण महानगरपालिकाले जनाएको छ ।  

दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरी करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको जनाइएको छ । 

घर निर्माण गर्दा खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । 

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर यस खोलाको सबैभन्दा बढी वडा नं २ मा अतिक्रमण भएको छ । 

रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, वडा नं ३ को आनन्दमार्ग, मिल्स क्षेत्र लगायतमा खोला बढी मिचिएको पाइएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । वडाले खोला र ऐलानी जग्गा गरेर करिब पाँच कठ्ठा जग्गा ओगटेको छ । 

सब्जीमण्डीलायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको छ । 

खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचना हटाइने महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले अतिक्रमित पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । 

हाल गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु १ करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

६६ लाखमा तलाउ निर्माण सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात् खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It