News

कञ्चनपुरको सुख्खा बन्दरगाह क्षेत्रमा जग्गाको मूल्य आकाशिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा १ को सामुदायिक वनमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको छ । २०६४ मा प्रस्तावित सो बन्दरगाहको प्रत्यक्ष प्रभाव यहाँको जग्गामा पनि परेको छ ।

नेपाल र भारतको संयुक्त रुपमा अघि बढेको यस योजना अन्तरगत महाकाली नदीमा चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेसँगै यस क्षेत्रमा जग्गाको मूल्य बढेको हो । 

केही वर्षअघिसम्म प्रतिकट्ठा ३ लाख रूपैयाँ पर्ने जग्गा हाल प्रतिकट्ठा ८० देखि ९० लाखमा बिक्री हुने गरेको स्थानीयबासी बताउँछन् ।

वनफडानीबाट निर्माण भएको बस्तीमा छ लेनको पक्की सडक र छेवैमा सुख्खा बन्दरगाह बन्ने भएपछि यहाँको मुहार फेरिएको हो । 

भौगोलिक रूपले विकट मानिएको दोधारा–चाँदनीमा विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएपछि स्थानियमा उत्साह थपिएको छ । 

बन्दरगाह निर्माणका क्रममा र पछि पनि स्थानिय बासिन्दाले रोजगारीका लागि सहज अवसर पाउने अपेक्षा गरिएको छ । 

भारतीय पक्षले पनि बन्दरगाहसम्म जोड्ने सडकको काम सुरु गरिसकेको छ । पक्की सडकमा ५ कट्ठा जमिन पर्दा ४० लाख मुआब्जा रकम पाएको स्थानियले सुनाए । बन्दरगाह निर्माणका लागि मुआब्जा बितरणको काम भइसकेको छ ।

सरकारले चालु आर्थिक वर्षमा बन्दरगाह  निर्माणका प्रक्रिया अघि बढाउन १ अर्ब बजेट विनियोजन गरेको छ ।

नेपाल र भारतबीच पश्चिमी सिमा नाकामा सुख्खा बन्दरगाह निर्माण गरि दुवै देशको एकिकृत भन्सार र नेपाल भारत र चिनसँगको त्रिदेशिय व्यापार नाका बनाउने सहमति भइसकेको छ । 

सुख्खा बन्दरगाहको गुरूयोजना अनुसार प्रस्तावित करिब ८० विघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेट, रेलवे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ लगायतका संरचना निर्माण गरिने छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It