काठमाडौं । घर बनाउँदा सबैभन्दा पहिले नक्सा पास गर्नुपर्छ । किनकी नक्सा पास नगरी बनाइएको घरलाई वैधानिक मानिँदैन । आजको लेखमा नक्सा पास गर्न मालपोत कार्यालयमा बुझाउनुपर्ने कागजातका बारेमा चर्चा गरौँ,
नक्सा पासका लागि नगरपालिका /गाँउपालिकाबाट उपलब्ध हुने दरखास्त फारम भरेर नक्सा दर्ता गराउनु पर्छ । उक्त फारमको साथमा बुझाउनुपर्ने कागजातहरूः
१. तिरो तिरेको रसिदः नक्सा पासका लागि मालपोतमा निवेदन दिनु अघि सबैभन्दा पहिले वडामा गएर चालु आर्थिक वर्षसम्मको तिरो तिरेको रसिद लिनुपर्ने हुन्छ ।
२. ट्रेस नक्साः कित्ता नम्बर स्पष्ट भएको नापीद्वारा प्रमाणित ट्रेस नक्सा लिनुपर्ने हुन्छ । ट्रेस नक्सा घर निर्माण हुने स्थानको नगरपालिका/गाउँपालिकाको नापी विभागमा गएर लिन सकिन्छ । सो ट्रेसमा आफ्नो जग्गा कहाँनेर छ हाइलाईट गरेर बुझाउन पर्छ । यस्तो ट्रेस नक्सा ३ महिना भन्दाअघि लिएको हुनु हुँदैन ।
३. घरबाटो सिफारिसः घर बनाउन लागेको स्थानमा बाटो छ वा छैन बाटो भए कति फिटको बाटो छ । अथवा ट्रेसमा जग्गा अगाडी बाटो छैन र फिल्डमा बाटो छ भने यस्तो अवस्थामा वडाबाट अनिवार्य रुपमा सिफारिस लिनुपर्छ । घरबाटो सिफारिस वडा कार्यालयले दिन्छ ।
४. चारकिल्लाको सिफारिसः आफुले घर बनाउन लागेको जग्गाको चारै दिशामा के छ, जग्गाको वरपर कुन कित्ता छ, सो को जानकारीका लागि चारकिल्लाको सिफारिस अनिवार्य हुन्छ । चार किल्लाको सिफारिस पनि वडा कार्यालयले नै दिन्छ ।
५. जग्गाधनी प्रमाण पुर्जाः जग्गाधनी प्रमाण पूर्जाको सक्कल र फोटोकपी आवश्यक हुन्छ । यो जग्गाको विवरण प्रमाणित गर्नका लागि प्रयोग गरिन्छ ।
६. बैंकको स्विकृतीः यदि जग्गा राखेर बैंकबाट ऋण लिनुभएको छ भने सो जग्गामा बैंक हक हुने हुँदा तपाईंले बैंकबाट घर निर्माण गर्न स्विकृती लिइ सिफारिस बनाउनुपर्ने हुन्छ ।
७. जग्गाधनीको नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो
८. साक्षीहरूः नक्सा पासको निवेदन दिनुअघि तपाईंको जग्गामा कुनै पनि विवाद छैन भनी ५ जना साक्षी र उनीहरूको हस्ताक्षर नागरिकताको फोटोकपी र एक एक प्रति पासपोर्ट साइजको फोटो बुझाउनुपर्छ ।
९. प्रस्तावित घरको नक्साः माथिका कागजातका साथ नगरपालिकाको मापदण्ड पुरा गरेर इन्जिनियरद्वारा बनाइएको घरको सम्पुर्ण विवरण उल्लेख गरिएको 2D map र National building code अनुसारको structural analysis गरिएको ड्रइङ नगरपालिकामा बुझाउनुपर्ने हुन्छ ।
यसरी दर्ता भएको नक्सा र आवश्यक कागजातहरु नगरपालिकाका प्राविधिकबाट भवन मापदण्ड र भवन निर्माण संहिताको आधारमा जाँच गरिन्छ । यदि ठिक छ भने नगरपालिका/गाउँपालिका अनुसार दस्तुर बुझाउने कार्य गर्नुपर्छ । आवेदनअनुसार सबै उचित देखिएपछि घर बनाउने व्यक्तिले डिपिसी सम्मको मात्र बनाउने प्रमाण पत्र पाउँछ । पालिका अनुसार नक्सा पासको प्रकृया फरक फरक रहेको छ ।
केहि पालिकामा अस्थाई अनुमतिपत्र, स्थाई अनुमतिपत्र र निर्माण सम्पन्नको प्रमाणपत्र दिने व्यवस्था रहेको छ । स्थाई अनुमतिको लागि घरधनीले पालिकामा डिपिसी सकिएपछि आवेदन दिनुपर्छ । ईन्जिनियरहरूले डिपिसी सम्मको निर्माणको अवलोकन गरि नक्सा अनुरूप भए नभएको हेर्छन् । नक्सा अनुसार निर्माण भएको खण्डमा पालिकाको ईन्जिनियरले स्थायी निर्माणको अनुमति दिन्छन् । त्यसपछि नक्सा अनुसार घर बनाउने प्रक्रिया सुरु हुन्छ ।