News

शिवरात्रीको लागि बागमतीमा मिनीफेवातालको पानी बगाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । यसवर्षको महाशिवरात्रिको अवसरमा बागमती नदिमा पानीको बहाव बढाइने भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट नदिमा पानी बगाउन लागिएको हो । 

बिहीबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनद्वारा धाप ड्यामको उद्घाटन भइसकेको छ । 

गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भएको जलाशययुक्त धाप ड्याम सुन्दरीजलबाट १८ किमि टाढा रहेको छ ।

 सो ड्यामबाट निकासा गरिएको पानीले बागमती नदी सफा र स्वच्छ हुने हुँदा नदी किनारमा रहेका पशुपति लगायतका तीर्थस्थलमा भक्तजनहरूलाई स्नानमा सहजता हुने अपेक्षा गरिएको छ ।

धाप ड्यामको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको बताए । 

आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताउँदै लिङ्देनले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरू पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने भन्दै उनले महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको बताए ।

 शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए ।

परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न सक्दैनन् । यसरी लागत बढ्ने हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउन मन्त्री पाण्डेले निर्देशन दिए । 

धाप ड्यामको निर्माणले राजधानी नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । मानव निर्मित विशाल तालले सो क्षेत्रको सोभा बढाएको छ । गोकर्णेश्वर नगरपालिका-१, शिवपुरी डाँडामा निर्मित धाप ड्याम सम्बन्धी फोटो तथा भिडीओले धेरैको ध्यान खिचेको छ । भने पर्यटकहरूको भिड पनि बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It