काठमाडौं । २०७९ साल घरजग्गा (रियलस्टेट) व्यवसायका लागि कति सफल हुन्छ अहिल्यै भन्न सक्ने अवस्था छैन । तर सुरूवाती अवस्थालाई हेर्दा यो वर्ष खासै सुखद नहोला कि जस्तो छाँट देखिएको छ । यो महिनामा देशभरीका मालपोत कार्यालयबाट ४४ हजार ८०३ घरजग्गा किनबेच भएका छन् । चैतमा  ७० हजार ८३० घरजग्गा किनबेच भएका थिए । गत महिनाकाे तुलनात्मक रुपमा हेर्दा २६ हजार २७ अर्थात ३६.७४ प्रतिशतले कम  घरजग्गा किनबेच भएको हो । 

फागुनमा देशभरी ७४ हजार ३६, माघमा ५९ हजार ५१६ र पुस महिनामा ७० हजार घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको चरम आर्थिक संकट र स्थानिय तहकाे निर्वाचनका गतिविधिले वैशाखमा घरजग्गा किनबेच घटेको रियलस्टेट व्यवसायीहरूको भनाइ छ । 

२०७८ काे फागुनकाे तुलनामा चैतमा घरकर्जा घटेको राष्ट्र बैंकको वित्तीय प्रतिवेदनले देखाएकाे छ । त्यसैको निरन्तरता यस वर्ष पनि भएको हुन सक्ने अनुमान छ ।

बैशाख महिनामा देशभरीका मालपोत कार्यालयबाट सेवाग्राहीलाई ९८ हजार ९७४ सेवा दिइएकाे छ भने गत चैतमा देशभरीबाट एक लाख ५९ हजार २६४ सेवा प्रवाह भएको थियो । 

घरजग्गा किनबेचसँगै अरु सेवा प्रवाह घटेपछि राजश्‍व असुली घटेको छ । वैशाखमा देशभरीबाट ४ अर्ब ७८ करोड रुपैयाँ कुल राजश्‍व असुली भएको छ । गत चैतमा ५ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ राजश्‍व असुली भएको विभागले जनाएको छ ।

घरजग्गा किनबेचको अवस्थाः 

jagga

बैशाख महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोत सुनसरीको इनरुवा र मोरङको बेलवारी नै अगाडि देखिएको छ। वैशाखमा इनरुवाबाट २ हजार ६४ घरजग्गा किनबेच हुँदा बेलवारीबाट १८ सय ८९ घरजग्गा किनबेच भएका छन् ।

त्यस्तै, झापाको भद्रपुरबाट १७ सय २०, जनकपुर १५ सय ३६, काभ्रेमा एक हजार ८६, लगनखेलबाट १४ सय ३१, कलंकी ११ सय १०, मकवानपुर १ हजार १५, चितवन ११ सय ३५, बाँकेको नेपालगञ्‍जमा १३ सय ७९ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

वैशाखमा २३ हजार ३३५ घरजग्गा रोक्का भएका छन् भने १५ हजार १३१ घरजग्गा फुकुवा भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा सम्पत्ती धितो राखेर कर्जा निकाल्नका लागि नेपालमा प्रायः मालपोत कार्यालयमा घरजग्गा नै धितो बन्धक (रोक्का) राख्‍ने चलन छ । 

घरकर्जामा देखियो तरलता संकटको प्रभाव 

घरजग्गा कर्जामा तरलता अभावको प्रभाव देखिएको छ । पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरुबाट घरजग्गामा कर्जा प्रवाह घटेको र पुरानो ऋणको साँवा–ब्याज असुली बढ्दै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक बर्षमा फागुन तुलनामा चैत महिनामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह खुम्चिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्म (९ महिनामा) बैंकको घरजग्गामा ५७ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी भएको देखिन्छ, जबकी फागुन मसान्तमा (८ महिनामा) बैंकले घरजग्गामा ६८ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।फागुन मसान्तको तुलनामा चैतसम्म एक महिनाको अवधिमै घरजग्गामा प्रवाह भएको कर्जा करीव ११ अर्ब रुपैयाँले घटेको छ । 

असार मसान्तको तुलनामा चैतमा बैंकको समग्र कर्जा प्रवाह बढेको भएपनि फागुनको तुलनामा चैत मसान्तमा घटेको देखिन्छ । पछिल्ला महिनामा बैंकले तरलता अभाव हुँदा मागे जति कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । फागुनसम्म तरलता संकटको प्रभाव खासै नदेखिएको भएपनि चैतदेखि भने रियल इस्टेट व्यवसाय प्रभावित भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It