News

जग्गाको कित्ताकाट खुल्दा पनि कारोबार किन बढिरहेको छैन?

Pinterest LinkedIn Tumblr

काठमाडौं । भदौ महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनामा भन्दा कम देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार भदौमा देशभरका मालपोत कार्यलयबाट ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भएको छ । 

जुन साउनको तुलनामा करिब ३ हजार ५ सयले कम हो । साउनमा देशभरका मालपोत कार्यलयबाट ३९ हजार २६३ लिखत पारित भएको थियो ।

लगातार मन्दीतर्फ धकेलिएको घरजग्गा कारोबार कित्ताकाट खुलेसँगै सकारात्मक हुने अपेक्षा गरिएको थियो । साउनको तुलनामा भदौमा कारोबार झन् घट्यो तर राजस्व संकलनमा भने वृद्धि आएको छ । सरकारले भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँले बढी हो ।

कित्ताकाट खुला भएसँगै कारोबारमा आमूल वृद्धि हुने अपेक्षा थियो । तर अपेक्षाअनुरूप कारोबार हुन नसकेपनि गत वर्षको कारोबारसँग तुलना गर्दा चालु आर्थिक वर्षमा कारोबार वृद्धि भइरहेको छ । गत वर्षको भदौमा देशभरि ३४ हजार ७२० लिखत पारित भएको थियो । 

भदौमा धेरै कारोबार भएका मालपोत कार्यालयहरूः

काठमाडौंमा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । यी कार्यालयमध्ये कलंकी मालपोत कार्यालयबाट सबैभन्दा बढी  कारोबार भएको छ । कलंकी कार्यालयबाट भदौ महिनामा पाँच सय ९४ संख्यामा घरजग्गा कारोबार भएको छ । 

दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालय छ । चाबहिलबाट भदौमा चार सय ७ संख्यामा कारोबार भएको छ । 

त्यस्तै, तेस्रोमा साँखु मालपोत कार्यालय रहेको छ । साँखुबाट भदौमा ३ सय ६७ संख्यामा घरजग्गा कारोबार भएको छ । 

मनमैजु कार्यालयबाट साउनमा २ सय ७३ संख्यामा कारोबार भएको छ । डिल्लीबजार कार्यालयबाट एक सय ७४ संख्यामा घरजग्गा किनबेच भएको छ । त्यसैगरी, टोखा कार्यालयबाट एक सय ३५ संख्यामा घरजग्गा किनबेच भएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It