Development

बाँकेमा ठेकेदारको लापरवाहीले पाँच वटा पुल निर्माण अलपत्र

Pinterest LinkedIn Tumblr

काठमाडौं । बाँकेमा ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वटा पुल अलपत्र परेका छन् । ठेकेदार कम्पनीहरूले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसक्दा लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका पाँच वटाको काम अधुरै रहेका हुन् ।

निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा/सिद्धार्थ दर्शन जेभिले ठेक्का पाएका तीन र अञ्जना यादव जेभिले ठेक्का पाएका दुइटा पुल अझै अधुरै छन् ।

खजुरा गाउँपालिका–२ ‘सी’ गाउँस्थित किरणनालामा निर्माणाधीन पच्चीस मिटरको पुल  गाल्भासँग २०७७ फागुन १९ गते सम्झौता भएको थियो । पुल निर्माणका लागि ०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ५ करोड ८५ लाख रुपैयाँ लागतमसहित निर्माण सुरु भएको २० महिना बितिसक्दा पनि पुलको ३५ प्रतिशतमात्र काम भएको छ ।

सोही समयमा गाल्भाले बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा ४ करोड ७२ लाख रुपैयाँ लागतमा २५ मिटरको पुल निर्माणको ठेक्का लिएको थियो । साथै, जानकी गाउँपालिका–४ छत्रपुरमा ५ करोड ३२ लाख रुपैयाँमा २५ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशतमात्र पूरा भएको छ । 

कम्पनीले खजुरा गाउँपालिकाको पुलको काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वैजनाथमा ५० प्रतिशत र जानकीमा ३० प्रतिशतमात्र काम सम्पन्न गरेको छ । थपिएको म्याद सकिन चार महिनामात्र बाँकी रहेकाले कम्पनीले काम सम्पन्न गर्न नसक्ने स्थिति देखिएको छ । 

बाँकेमा अञ्जना यादव जेभिले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अलपत्र अवस्थामा छन् । निर्माणको ठेक्का पाएको यादव जेभी हालसम्म सम्पर्कविहीन छ । उक्त कम्पनीले निर्माण गरिरहेको दुइटा पुलको सम्झौता मिति सकिए पनि कम्पनी सम्पर्कमा नआएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

कम्पनीले २०७८ भदौमा खजुरा गाउँपालिका–१ मा ५ करोड रुपैयाँ लागतमा ३० मिटरको पुल निर्माण गर्ने सम्झौता गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर तोकिएको समयसीमा सकिँदा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । 

गाउँपालिकाले अधुरा रहेका पूर्वाधार विकासका योजना सम्पन्न गराउन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा प्रगति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Pin It