News

फिर्के खोला मिचेर डेढ सय घर तथा भवन निर्माण

Pinterest LinkedIn Tumblr

काठमाडौं । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला अतिक्रमण गरी १ सय ४७ वटा संरचना निर्माण भएको पाइएको छ । पोखरा महानगरपालिकाले थालेको ‘फिर्के खोजी अभियान’का क्रममा फिर्के अतिक्रमण भएको पाइएको हो । महानगरपालिकाले साउन ३ देखि खोलाको सीमांकन सुरु गरेको थियो ।

खोला सीमांकनका क्रममा ३५ वटा व्यक्तिगत पक्की घर र २५ सामाजिक भवनले खोला अतिक्रमण गरेको पाइएको छ । साथै ८७ वटा कच्ची घर पनि फिर्के खोला मिचेरै निर्माण भएको र केही संरचना त ८० प्रतिशत पानीमै भएको पाइएको छ ।

खोला सीमांकन गर्न ५ सय ८४ पक्की पिलर गाडिएका छन् । त्यस्तै खोलाको दायाँबायाँ २ सय ४० जति चिन्ह लगाइएका छन् ।

फिर्के खोला पोखरा-१८ अँधेरीकुनादेखि सुरु भएर पोखरा-१७, गाईघाटस्थित फेवातालमा गएर मिसिन्छ । फिर्केले पोखराको २, ४, ५, ७, ८, १७ र १८ वडालाई छुन्छ ।

बढ्दो शहरीकरणसँगै खोला मिचेर कैयौँले विभिन्न भवन संरचना निर्माण भएपछि फिर्केको अस्तित्व हराउँदै गएकोमा नागरिक समाज चिन्तित थियो ।

फिर्के मिच्ने संरचना तत्काल भत्काएर मोटरेबल बाटो, फुटट्रेल र साइकल लेन निर्माण गर्नुपर्ने उनीहरूको माग छ । केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए ।

फिर्केको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ । सीमांकन सकिएको र यो साता नै प्रतिवेदन सार्वजनिक गर्ने महानगरको तयारी छ ।

एसियाली विकास बैंकको पोखरामा दिगो विकास पर्यटनका लागि सात अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्के खोलाका काम गरिने महानगरले जनाएको छ । त्यसअघि अर्को सूचना जारी गरी मापदण्ड मिचेर निर्मित संरचना भत्काउन समय दिइने छ ।

२०३२ सालको नापीअनुसार अहिले फिर्के खोलाको प्राविधिक सर्वेक्षण र नापजाँच गरेर सिमाना यकिन गर्ने काम भएको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It