News

मनसुन सुरु भएसँगै निर्माण सामाग्रीको मूल्यमा गिरावट, के को मूल्य कति घट्यो?

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्: 

 

काठमाडौं । वर्षाको समय चलिरहेको छ । यससँगै संरचनाहरू निर्माणमा कमी आएको छ अर्थात् कन्स्ट्रक्सन अफसिजन सुरु भएको छ । भने, अधिकांश निर्माण सामाग्रीको मूल्यमा गिरावट आएको छ । निर्माण सामग्री भन्ने बित्तिकै ईंटा, रड र सिमेन्टलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । हामीले यिनै निर्माण सामग्रीको बजार मूल्यमा आएको उतारचढावका सम्बन्धमा व्यवसायी तिलक ढुङ्गानासँग कुरा गरेका छौं । सोही कुराकानीका आधारमा हामीले यो लेख तयार गरेका हौं ।

हिजोआज बाटोको समस्या र पानीले संरचना निर्माण अलपत्र परिरहेका छन् । यसो हुँदा बजारमा हिजोआज सामाग्रीको माग घटेको छ । जसले गर्दा निर्माण सामाग्रीको मूल्य क्रमिक रुपमा घट्दै गएको ढुङ्गानाको भनाई छ ।   

असार लागेसँगै ईंटा, सिमेन्ट र डन्डीको मूल्य ओरालो लागेको ढुंगाना बताउँछन् । उनी भन्छन्, ‘बर्षादको समयमा निर्माणको काम कम हुन्छ । यतिबेला निर्माण सामग्रीको माग पनि कम हुन्छ । त्यसैले हाल लामो समय भण्डारण गरेर राख्न नमिल्ने र अन्य औद्योगिक निर्माण सामाग्रीहरूको मूल्य सस्तिन थालेको हो ।’ 

हाल सिमेन्टको बजार अवस्था बारेमाः

मुख्यगरी सिमेन्टको गुणस्तर र ब्रान्डका आधारमा मूल्य निर्धारण भएको हुन्छ । त्यसमा पनि समयअनुसार घटबढ हुने भइरहेको हुन्छ । ओम टंकेश्वर इन्टरप्राइजेजका सञ्चालक तिलक ढुङ्गानाका अनुसार, ‘गत चैत महिनाको मूल्य सूचीअनुसार सिमेन्ट बोरामा ४० देखि ५० रुपैयाँ घटेको छ । ५० किलोको बोरामा पाइने ओपीसी र पिपीसी दुवैको मूल्य सस्तिएको उनले बताए । 

ब्रान्डअनुसार अहिले ओपीसी छ सय ५० देखि सात सय ८० रुपैयाँसम्म पर्छ । अहिले उदयपुर सिमेन्टको मूल्य प्रतिबोरा नौ सय रुपैयाँ छ । प्रतिबोरा आठ सय ९५ रुपैयाँ सम्म पर्ने हेटौंडा सिमेन्ट तुलनात्मक रुपमा सस्तो छ । तर यी दुवै ब्रान्ड अन्य सिमेन्ट ब्रान्डको तुलनामा महङ्गा हुन् । 

 ‘अहिले पोहोरभन्दा प्रतिबोरा १०० रुपैयाँ सम्म मूल्य सस्तिएको ढुंगाना बताउँछन् । गतवर्ष ५० केजी ओपीसी सिमेन्ट ७६० देखि ८२० रुपैयाँसम्ममा पाइन्थ्यो । जबकी अहिले मूल्यमा गिरावट आएर ५८० देखि ७८० रुपैयाँमा झरेको छ । त्यसैगरी, गतवर्ष ५० केजी पिपीसी सिमेन्ट ७५० सम्म पुगेको थियो भने अहिले ६३० को हाराहारी आइपुगेको छ ।’

ईंटाको बजार अवस्थाः

ईंटाको गुणस्तर, आकार र उत्पादन प्रविधिअनुसार मूल्य निर्धारण गरिएको हुन्छ । हाल बजारमा प्रति युनिट १५ देखि १८ रूपैंयासम्म पर्ने ईंटा उपलब्ध छन् । स्थानीय स्तरमा उत्पादन भएका एक नम्बर ईंटाको आन्तरिक मूल्य १३ रुपैयाँ पर्दछ भने दुई नम्बरको ईंटालाई ११ रुपैयाँ पर्दछ । बाहिरबाट आयात हुने गरेका ईंटाको मूल्य हाल बजारमा १८ रुपैयाँ पर्ने गरेको व्यवसायी ढुंगाना बताउँछन् । रुपैयाँ

 मौसमको अवस्था र सहजताका हिसाबले निर्माणका लागि प्रायजसो असोज देखि चैतसम्मको महिनालाई अनुकूल मानिन्छ । सो अवधीमा व्यवसायीहरूले मौकाको फाइदा उठाउने गरेको देखिन्छ । ढुङ्गानाका अनुसार, गतवर्ष निर्माणको सिजनमा ईंटाको मूल्य २० देखि २२ रुपैयाँ प्रति गोटा सम्म पुगेको थियो । उनी भन्छन्, ‘यो मूल्य टंकेश्वर ग्रुपको धादिङ र नुवाकोटमा जिल्लामा लागु मूल्यसूची हो । काठमाडौंमा भने केहि मूल्य थपघट हुनसक्छ ।’ 

रडको बजार अवस्थाः

हिजोआज सामान्य घरहरूमा समेत काठको प्रयोग घटेर गएको छ । यसो हुँदा पिलर निर्माण र ढलान लगायतका लागि रडको प्रयोग बढ्दो छ । नेपालको सन्दर्भमा अधिकांश रड भारतबाट आयात हुन्छ । स्थानीय उत्पादनका लागि सम्भावना कम छ । भारतबाट कच्चापदार्थ आयात गरी रड तयार गर्दा मूल्य महंगो पर्न जान्छ । त्यसो हुँदा मूल्य कटौति गर्नका लागि तयारी अवस्थामा भएका र ड भारतबाट ल्याइन्छ । गत फागुनमा रडको मूल्य एक सय ३५ सम्म पर्दथ्यो । हाल सो मूल्य घटेर भ्याट सहित १ सय १४ रुपैंयामा आइपुगेको छ । 

वैशाखदेखि असोजसम्मको समयलाई भने निर्माण गतिविधिका लागि अफ सिजन मानिन्छ । असोज महिना देखि वर्षाद-झरीको समय सकिन्छ । दशैंतिहारको माहोल सकिएसँगै मानिसहरू निर्माणको काम सुरु गर्छन् । साथै बजार मूल्यलाई प्रभाव पार्ने अन्य कारकहरू पनि छन् । जस्तो कि, २०७२ सालको भूकम्प पछि नेपालमा सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्री उद्योगको एक किसिमले बाढी नै लागेको थियो । नयाँ उद्योग थपिनुका साथै भएका उद्योगहरुले पनि क्षमता विस्तार गरेका छन् । यसरी उत्पादन क्षमता वृद्धि हुँदा आपूर्तिमा परेको चापले मूल्यमा असर देखाएको छ ।

 अहिले अफ सिजन, बढ्दो उत्पादन र तरलता अभावले समग्र व्यवसायलाई नै असर गरेको छ । गत वर्षको समान अवधिको तुलनामा अहिले निर्माण सामाग्रीको कारोबार ५० प्रतिशतले घटेको ढुंगानाले बताए ।

हाल तरलताको अभावले बैंकबाट ऋण पाउन मुश्किल छ । जसले गर्दा निर्माणले उल्लेखनीय गति लिन सकेको छैन । केही समयअघि सम्म निर्माण सामाग्रीको मूल्य आकासिएको थियो । यद्यपि पछिल्लो समय मूल्यमा गिरावट आएसँगै घर बनाउन खोजिरहेका उपभोक्तालाई राहत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It