Research

‘पक्की घर’को मोह बढ्दै, नेपालभर कति परिवार बस्छन् ‘कच्ची घरमा’ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो २० वर्षको अवधीमा नेपालमा पक्की घरको संख्या अत्यधिक बढेको पाइएको छ । यातायातको सहज पहुँच र वैदेशिक रोजगारबाट हुने आम्दानी बढेसँगै कच्ची घरको संख्या घटेर पक्की घरको संख्या बढेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर पक्की घर निर्माणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । २०७८ मा पक्की घरको दर ७६.५ प्रतिशत रहेको छ । यस्तै अर्ध पक्की घर १५.८ प्रतिशत छ ।

सर्वसाधारण नेपालीले आफू बस्न निर्माण गरेका कूल घरमध्ये ७.८ प्रतिशत घर मात्रै कच्ची रहेका छन् ।

तथ्याङ्कअनुसार सर्वेक्षणमा सहभागी गरिएका कूल ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये ५० लाख ९२ हजार ३ सय ७५ घरपरिवार पक्की घरमा बस्ने गरेको पाइएको छ । यस्तै, १० लाख ४९ हजार ४ सय ५५ अर्ध पक्की घरधनी र ५ लाख १७ हजार कच्ची घरधनी रहेको पाइएको छ ।

पछिल्लो जनगणना अनुसार देशभर ७५ लाख ५२ हजार ६६ घर संख्या रहेको देखिएको छ । निर्माण भएको समयावधिको आधारमा घरहरूलाई वर्गीकरण गर्दा कुल मध्ये करिब ४२ प्रतिशत घरहरू ०७२ को भूकम्पपछि बनेको पाइएको छ । यस्तै, २१.६ प्रतिशत घरहरू आठदेखि १४ वर्ष बीचमा, १८ प्रतिशत घरहरू १५ देखि २४ वर्ष पहिला बनेको देखिन्छ ।

मधेश प्रदेशमा ५७ प्रतिशतभन्दा बढी घरहरू पछिल्लो ७ वर्षभित्र बनेको देखिन्छ भने बागमती प्रदेशमा यो अनुपात ३७ प्रतिशत रहेको छ । 

सन् २००१ मा पक्की घर ३६.६ प्रतिशत मात्रै थियो । त्यो बेला ३३.५ प्रतिशत घर कच्ची र अर्ध पक्की घर २९.२ प्रतिशत थिए । त्यसको ठिक १० वर्ष अर्थात् सन् २०११ पछि पक्की घरको दर वृद्धि भएर ५८.४ प्रतिशतमा पुगेको थियो भने अर्ध पक्की घरको दर घटेर ३१ प्रतिशतमा पुगेको थियो । त्यस्तै कच्ची घरको दरमा उल्लेख्य परिमाणमा गिरावट आएर ९.५ प्रतिशतमा झरेको थियो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It