News

सरकारले  मुआब्जा वापतको रकम नदिँदा सडक निर्माण प्रभावित

Pinterest LinkedIn Tumblr

काठमाडौं । सरकारले  मुआब्जा वापतको रकम नदिँदा रामेछापको सेलेघाट–साँघुटार सडकखण्डको निर्माण प्रभावित भएको छ । सरकारको तर्फबाट मुआब्जा रकम वितरण गर्न नसक्दा निर्माण कार्य अवरूद्ध भएको हो । आफुहरूले पाउनुपर्ने मुआब्जा रकम भुक्तानी नभएपछि स्थानीयले घर तथा गोठ भत्काउन दिएका छैनन् । 

करिब ५० किलोमिटर लामो उक्त सडकखण्डमा २ सय ४२ वटा घरगोठ छन् । घरगोठकै कारण विभिन्न स्थानमा करिब ८ किलोमिटर खण्डमा आयोजनाको काम रोकिएको छ ।

सडक छेउका घरगोठको रकम असोजमा नै मुआब्जा समितिले निर्धारण गरेको थियो । यद्यपि निर्धारित रकम माग गर्ने स्थानीय बढेकाले आयोजनाले क्षतिपूर्ति बापतको रकम दिएर घरगोठ भत्काउन सकेको छैन ।

घरगोठ हटाउनका लागि आयोजनाले करिब १७ करोड रुपैयाँ मुआब्जा बापतको रकम वितरण गर्नुपर्नेछ । तर आयोजनामा ४ लाख रुपैयाँ मात्र बजेट छ ।

निर्धारण भएको मुआब्जाको रकम निकासाका लागि माग गरिएको तर फाइल अर्थ मन्त्रालयमा पुगेर थन्किएको आयोजनाले जनाएको छ । 

भारतीय एक्जिम बैंकको लगानीमा निर्माण भइरहेको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माणमा लाग्ने खर्च बैंकले बेहोर्ने भए पनि मुआब्जा, कर र अन्य प्राविधिक खर्च नेपाल सरकारले बेहोर्नुपर्ने सम्झौता छ । 

नेपाल सरकारले दिनुपर्ने बजेट समयमा प्राप्त हुन नसक्दा मुआब्जाको वितरणमा ढिलाइ भएको जनाइएको छ । निर्माणाधीन सडकखण्डको बीचमा पर्ने घरगोठका कारण निर्माण कार्यमा बारम्बार गतिरोध आउने गरेको छ ।

ठूला मेसिन औजार लैजान, छेउ छाउमा बसोबास गर्दै आएको घर भत्किने जोखिम भएका कारण काममा समस्या आएको हो ।  मुआब्जा रकम उपलब्ध नहुँदा अन्यत्र बसोबासको व्यवस्था समेत गर्न नसकेको स्थानीयको गुनासो छ । 

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो उक्त सडक आयोजना २०२३ को मे १० मा सक्नुपर्ने गरी सम्झौता भएको छ । 

दुई लेनको उक्त सडक निर्माणका लागि १ अर्ब ९५ करोड रुपैयाँमा भारतीय निर्माण व्यवसायी टेलिकम्युनिकेसन इन्डियासँग खरिद सम्झौता भएको छ । सडकमा हाल ट्रयाक खन्ने, पूर्वाधारको निर्माण गर्ने लगायत कार्य भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It