News

धुलिखेल र बनेपामा कित्ताकाट खुल्यो, अन्य पालिकाले पनि चाँडै अनुमति पाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । तत्कालका लागि यी दुई ठाउँका लागि मात्रै कित्ताकाट खुला गरिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । गत जेठ २७ गतेदेखि रोकिएको घरजग्गा कारोबार करिब सात महिनापछि खुलेको हो । 

जग्गा वर्गीकरण भइसकेका जिल्लाका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको जिल्ला मातपोत कार्यालयले जनाएको छ । 

धुलिखेल र बनेपा नगर तथा चौंरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए । 

चौरीदेउराली र खानीखोला गाउँपालिकाले भने वर्गीकरणमा सबै भूमि गैरकृषि क्षेत्र कायम गरिएको जानकारी गराएपछि पुनः वर्गीकरणका लागि पठाइएको छ । अन्य पालिकाबाट भने मालपोत कार्यालयमा अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन नआएको जनाइएको छ । 

मंसीर २२ गतेसम्म स्थानीय सरकारले स्थानीय भू-उपयोग परिषद् बाट जग्गाको स्थायी तथा अस्थायी वर्गीकरण गर्नुपर्नेमा जिल्लाका नौ स्थानीय तह नागरिक प्रति अझै अनुत्तरदायी देखिएको जनाइएको छ ।

भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरूबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता÷पुर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकाले अनिवार्य रूपमा मिति २०७९ साल माघ २ गतेबाट खुला गरिएको कार्यालयले जनाएको छ । 

लिखत रजिष्ट्रेसन पास बैंक तथा वित्तीय संस्थाको रोक्का, नामसारी लगायत अन्य निवेदनसम्बन्धी सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्नेगरी स्थानीय तहहरूबाट सिफारिस आएपश्चात् मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ ।

गत जेठ २७ गतेदेखि मङ्सिर २२ गतेसम्म जग्गा वर्गीकरणमा आलटाल गरिरहेका स्थानीय सरकारले विज्ञ नभएका कारण समस्या भएको बताएका छन् । 

जग्गा वर्गीकरण नहुँदा नागरिकका अंशबण्डासमेत हुन सकेको छैन । जसका कारण राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो जमिन धितो राखेर उपचारसमेत गर्नबाट वञ्चित बनेका छन् । 

नियमावलीमा स्थानीय सरकारले जग्गा भू–वर्गीकरण गर्न नसके प्रदेश सरकारले गर्ने उल्लेख छ । जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ । 

यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It