Development

बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चनौटा सडकको स्तरोन्नति सुरु भएको छ । आइतबार एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले संयुक्त रुपमा आयोजनाको शुभारम्भ गरेका हुन् ।

हाल सडकको स्तरोन्नतिका लागि परामर्शदाता नियुक्ति चलिरहेको र ठेक्का आह्वान प्रक्रिया अगाडि बढेको जनाइएको छ । 

कुल २७ करोड ५० लाख डलर अर्थात् करिब ३५ अर्ब रुपैयाँ लागत रहेको यस आयोजनाले नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्ने जनाइएको छ । यसमा नेपालको करिब ४ अर्ब लगानी हुनेछ । 

नेपालमा पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने अपेक्षा गरिएको छ । यसले नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने हुँदा नयाँ आर्थिक सम्भावना बढ्ने छ । यो सडकखण्डले भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने जनाइएको छ ।

यो सडक बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चनौटासम्म १९ किलोमिटर गरी कुल ६९ किलोमिटरको बनाउने योजना रहेको छ । 

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ । यसमा दुईवटा खण्ड रहेका छन् । एउटा बुटवलदेखि चनौटासम्मको सडक चार लेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It