News

निर्माण सम्पन्न भएको १० वर्ष बित्यो, तर विष्णुमतिको पुल सञ्चालनमा आउन अझै अन्योल

Pinterest LinkedIn Tumblr

काठमाडाैं । निर्माण सम्पन्न भएको एक दशक बितिसक्दा पनि काठमाडौं टेकुस्थित विष्णुमतीको पुल सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनि जीआईईसी पप्पु जेभीले मापदण्ड पुरा नगरी पुल निर्माण गरेको भन्दै सडक विभागले पुल सञ्चालनमा रोक लगाइरहेको छ । 

निर्माणका क्रममा पुलको सुपर स्ट्रक्चरको काम डिजाइन र निर्देशन अनुरूप नभएको भन्दै सडक विभागले ठेक्का तोड्ने निर्णय समेत गरेको थियो । निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो । 

विभागको निर्णयप्रति असहमति जनाउँदै निर्माण कम्पनी कानुनी प्रक्रियामा गएपछि कम्पनिलाई कालो सूचिमा समेत राखिएको विभागले जनाएको छ । यसरी त्रुटिलाई सच्याउनको सट्टा त्यसविरुद्ध निर्माण कम्पनीले कार्यालयबाट ठेक्का तोड्न र कालोसूचिबाट हटाउन अदालती प्रक्रियामा गएको विभागका सूचना अधिकारी सुनित केसीले जानकारी दिए । 

सर्वाेच्चमा दायर मुद्दाको हालसम्म पनि सुनुवाइ हुन सकेको छैन । कानूनी प्रक्रियामा रहेकाले तत्काल पुल सञ्चालन हुन नसक्ने जनाइएको छ । अदालतको निर्णयपछि मात्र पुललाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय हुने समेत केसि ले बताए । 

पुलको स्वीकृत ड्रइङअनुसार पुलको लम्बाइ ६० मिटर हुनुपर्ने र तीन स्पानमध्ये बीचको ३० मिटर, दायाँ १० मिटर र बायाँ २० मिटर हुने उल्लेख छ । पुलको सब-स्ट्रक्चरसम्मको भुक्तानी भने भइसकेको विभागले जनाएको छ । 

सन् २०१६ जुलाईसम्म निर्माण सम्पन्न गर्नेगरि २२ करोड ६१ लाख ७४ हजार ९ सय ७४ रूपैया ३१ पैसा मा २०१४ जुन २३ मा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि थप एक वर्ष म्याद समेत थपिएको थियो । 

डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन वि.संं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो । 

सूचना प्रकाशन भएपछि पनि निर्माण कम्पनीको तर्फबाट कुनै पहल नभएपछि ठेक्का तोडिएको विभागले जनाएको छ ।

यसअघि पनि पप्पु कन्स्ट्रक्सनले तिनकुनेको बागमति पुलको गुणस्तरीय निर्माण गर्न नसक्दा ठेक्का तोडिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
Pin It