News

वीरगञ्जका घरहरू गुगलको सिस्टममा जोडिए 

Pinterest LinkedIn Tumblr

काठमाडौं । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ)को सुरुवात गरेको छ । बढ्दो शहरीकरणसँगै घरको सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो । 

नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने अपेक्षा गरिएको छ । 

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडीबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । मेट्रिक ठेगाना प्रणाली गणकले संकलन गरेको आवश्यक तथ्याङ्कका आधारमा बनाउने गर्छन् ।

वीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगर प्रमुखद्वारा नम्बरप्लेट टाँसी मेट्रिक ठेगाना प्रणाली सुरुआत गरिएको छ ।  आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँसिएको छ । 

पहिलो चरणमा महानगरको वडा नं १ देखि १६ सम्म जीआईएसमा आधारित हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिएको छ । 

आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने जनाइएको छ । 

पशुपति घोष मार्गमा पहिलो दिन सोमबार ५५ वटा घरमा नम्बरिङ गरिएको छ । भने १६ वटा वडाका करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने तयारी छ । पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य छ । 

के हो मेट्रिक ठेगाना प्रणाली ?

सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । यो प्रणालीमा सडक गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने छन् । यसमा घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोका सम्मको दूरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुन्छ । नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिन्छ । यसो हुँदा कोही कसैको ठेगाना सहजै पत्ता लगाउन सकिन्छ । 

रासस

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It