News

३० करोड लगानीसहित भेडेटारमा ‘स्काई वाक’ निर्माण गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । धनकुटाको भेडेटारमा स्काई वाक निर्माण हुने भएको छ । वन्डर्स ग्रुपअन्तर्गतको वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले ३० करोड रुपैयाँ लागतमा सिसाको स्काई वाक निर्माण गर्ने भएको हो ।  

सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने स्काईवाकको जग हाल्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।  

वन्डर्स ग्रुपले यसअघि निर्माण गरेको इलामको कन्याम क्लाउड नामको स्काई वाक सञ्चालनमा आइसकेको छ । त्यसैगरी काठमाडौं कमलादीस्थित स्काईवाक निर्माणाधीन अवस्थामा छ । 

५० मिटर लामो स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण हुनेछ । जहाँ एकैपटकमा २०० जना हिँड्न सक्छन् । 

स्काईवाकको उचाइ १०० देखी ५०० मिटरसम्म हुने र चौडाइ  ४ मिटर हुने बताइएको छ । घुम्तीमा १० मिटर रहने स्काईवाक धरानतर्फ ३९ मिटर लामो हुनेछ । सिसाबाट निर्माण हुने पारदर्शी स्काईवाकले साहसिक पर्यटकहरूलाई आकर्षित अपेक्षा गरिएको छ । 

हालको भ्यु टावर भएको स्थानमा निर्माण सुरू गरिएको सिसाको स्काईवाकको तल भीर भएकाले अझै थ्रील्ड अनुभव हुनेछ । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ । 

सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य सहित सुरु भएको परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको छ । 

भेडेटारमा निर्माण हुने स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना हुनेछ । स्काईवाकले भेडेटारको पर्यटनलाई प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It