News

भक्तपुर-नगरकोट १० वर्षदेखि सडक अलपत्र, ठेक्का तोड्ने तयारी

Pinterest LinkedIn Tumblr

काठमाडौँ । सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट सडकखण्डको ठेक्का तोड्ने तयारी गरेको छ । परियोजना निर्देशनालयले सोमबार एक सूचना जारी गर्दै ठेकेदार कम्पनी अराभली इन्फ्रापावर लिमिटेड–सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि जेभीसँग भएको सम्झौता  तोड्न लागेको जनाएको हो । 

सैलुङ कन्स्ट्रक्सनले २०७०/७१ मा भक्तपुरदेखि नगरकोटसम्मको सडक विस्तारको ठेक्का पाएको थियो । ठेक्का पाएको करिब १० वर्षको अवधिमा ८ पटक म्याद थपिएको छ । पछिल्लो पटक पुस ३० सम्मका लागि समयसीमा थपिएको थियो । तर, म्याद सकिएको साढे २ महिना बित्दासम्म  ठोस प्रगति नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो ।

कार्यालयले काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन र जेभीसँग भएको सम्झौताका प्रावधान तोकेर ठेक्का तोड्न लागेको हो । अब १४ दिनभित्र कार्यालयमा उपस्थित नभए ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने र आवश्यक कदम चालिने सूचनामा भनिएको छ । 

रूख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएको दाबीसहित ठेकेदार कम्पनीले एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता जनाएको थियो । तर त्यसपछि पनि काम अघि बढाइएको थिएन । 

सैलुङले ठेक्का पाएको पाँच वर्षको अवधिमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिइसकेको छ । त्यसैगरी, चौथोपल्ट चिसो तथा वर्षाको कारण कालोपत्रे गर्न नसकिएको तथा खरिद नियमावली २०६४ आठौं संशोधन अनुसार २०२० अप्रिल १९ मा निर्माण कार्यसक्ने गरी ६७६ दिन थपिएको थियो । पाँचौँपटक २०२० डिसेम्बर ३० सम्मका लागि २५५ दिन थपियो । छैटौँ पटक कोभिडका कारण देखाउँदै २०२१ जुन २९ सम्म १८१ दिन र सातौँपटक गत चैत मसान्त अर्थात् २०२२ अप्रिल १३ सम्मका लागि म्याद थप गरिएको थियो । 

त्यस्तै, सार्वजनिक खरिद ऐनको १२ औं संशोधनअनुसार उक्त सडक निर्माणको म्याद आठौँपटक थपिएर २०७९ पुष मसान्तसम्म बनाइएको थियो । 

यस सडकखण्डका ठेकेदार प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदा प्रसाद अधिकारी हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको छ । स्थानीयबासीले प्रचण्डको घरभेटी भएकै कारण काम नगरे पनि म्याद थप्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । 

वर्षौ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयवासी ठेकेदार र सरकारसँग रुष्ट छन् ।  गत फागुन १८ गते उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका थिए । उनले भक्तपुर-नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सहेर नबस्ने चेतावनीसमेत दिएका थिए । मन्त्री श्रेष्ठले १ महिनाको समय माग गर्दै काम सम्पन्न नभए आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए । सोहीअनुसार १४ दिने स्पष्टीकरण माग गरिएको हो । 

यो सडक भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ । २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पुर्याइएको छ । सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It