बसोबास विक्ली राउण्ड अपः साताभरका रियल ईस्टेड तथा कन्स्ट्रक्सन सम्बन्धी समाचार र हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिहरू एउटै भिडिओमा ।
१. घरजग्गा कारोबार बढ्न थाल्यो, कार्तिकको तुलनामा मंसीरको कारोबार २३ प्रतिशतले धेरै
चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिर महिनाको घरजग्गा कारोबार कार्तिकको तुलनामा २३.३३ प्रतिशतले बढेको पाइएको छ । मंसीर महिनाको तथ्यांकले काठमाडौं उपत्यकामा मात्रै १ हजार ९ सय ८ संख्यामा घरजग्गा कारोबार भएको देखाएको छ । जबकि कार्तिक महिनामा १ हजार ५ सय ४७ घरजग्गा कारोबार भएको थियो । त्यसैगरी मंसिर महिनामा जग्गाको कित्ताकाट पनि दोब्बरले वृद्धि भएको छ । मंसिरमा ६ सय १६ जग्गा कित्ताकाट भएको छ भने कार्तिक महिनामा ३ सय ८७ मात्रै जग्गा कित्ताकाट भएको थियो ।
२. धोबीखोला करिडोरमा चल्यो काठमाडौं महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै
काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो । सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर चलाएको समेत महानगरले बताएको छ । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।
३. आठ वर्षदेखि अलपत्र जोरपाटी-साँखुको थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन
८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकखण्ड अन्तर्गतको थलीमा सडक कालोपत्रे गर्ने काम तीन दिनभित्र सम्पन्न गर्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन दिएको छ । आयोजनाले मंगलबार निर्माण कम्पनीलाई सो खण्डको कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन दिइएको हो । निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको र यसले फेरी स्थानीयले सडक बन्द गर्न सक्ने भएकाले यो निर्देशन दिएको हो । आयोजनाले काम नसके बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रकृया अगाडि बढाउने चेतावनी दिएको छ ।
४. सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा बेच्दै
सिद्धार्थ बैंकले धितोमा राखिएको सवारीसाधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने जनाएको छ । यदि धितो बिक्रीबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा अन्य जमानतकर्ताको चल अचल सम्पत्ति समेत लिलाम बिक्री गरी रकम असुल गर्ने बैंकले जनाएको छ ।
५. एक अर्बको लगानी सहित कमलादीमा बन्न लागेको एसियाको दोस्रो मोक्सी होटल
पाँचतारे होटल सञ्चालक एमएस ग्रुपले कमलादीमा ‘मोक्सी होटल’ निर्माण गर्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको लगानीमा मेरियट इन्टरनेशनलले निर्माण गर्न लागेको यस होटल निर्माणमा जग्गाबाहेक १ अर्ब १० करोड लागत लाग्ने कम्पनीको अनुमान छ । कम्पनीले वातावरणीय प्रभाव मुल्याङ्कन गरी प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । होटलको कूल क्षेत्रफल ८८८.१४ वर्गमिटर हुने प्रतिवेदनमा उल्लेख छ । जसमध्ये आधाभाग खुला क्षेत्र हुने कम्पनीले जनाएको छ । निर्माण सुरु भएको ५६ महिनामा काम सम्पन्न हुने भनिएको यो मोक्सी होटल एसियाको दोस्रो भएको कम्पनिको दावी छ । भने एसियाको पहिलो मोक्सी होटल जापानमा छ ।
६. कञ्चनपुरको सुख्खा बन्दरगाह क्षेत्रमा जग्गाको मूल्य आकाशिँदै,
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा १ को सामुदायिक वनमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको छ । नेपाल र भारतको संयुक्त रुपमा अघि बढेको योजना २०६४ मा प्रस्तावमा आएको थियो । योजना अन्तर्गत महाकाली नदीमा ४ लेनको पुल र ६ लेनको पहुँच मार्ग बनेसँगै यस क्षेत्रमा केही वर्षअघिसम्म प्रतिकट्ठा ३ लाख रूपैयाँ पर्ने जग्गा हाल ८० देखि ९० लाखमा बिक्री हुन थालेको हो । सुख्खा बन्दरगाहको गुरूयोजना अनुसार प्रस्तावित करिब ८० विघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेट, रेलवे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ लगायतका संरचना निर्माण गरिने छ । नेपाल र भारतबीच पश्चिमी सिमा नाकामा सुख्खा बन्दरगाह निर्माण गरि दुवै देशको एकिकृत भन्सार र नेपाल भारत र चिनसँगको त्रिदेशिय व्यापार नाका बनाउने सहमति भइसकेको छ ।
नियमित श्रृंखला- ‘प्रपर्टि अफ द विक’
- बानेश्वरको आवासीय तथा कमर्शियल जग्गा बिक्रीमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस साता हाम्रो वेबसाइटमा लिस्टेड प्रपर्टिको रुपमा मिड बानेश्वरस्थित कर्मशियल जग्गा रहेको छ । आवासिय तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त यो प्रपर्टि स्पेश २८ आना १ पैसामा फैलिएको छ । जहाँ तपाईंले १० फिटको रोड एक्सेस पाउनुहुन्छ । गार्डेन तथा २ वटा कार र केहि बाइक पार्किङ क्षमता भएको यो प्रपर्टिमा २ वटा पुरानो घर पनि समावेश छन् । जसलाई आवश्यकता अनुसार रिनोभेट गरी प्रयोगमा ल्याउन सकिन्छ । 90 फिट चौडा भएको यो प्रपर्टी कर्पोरेट कार्यालय भवन, स्कुल/कलेज सञ्चालनका लागि पनि उपयुक्त हुन्छ । मूल्यको कुरा गर्नुपर्दा प्रति आना ८० लाख तोकिएको छ ।
- कास्की जिल्लाको लाहाचोको भट्टरस्थित जग्गा बिक्रिमाः विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस साता हाम्रो वेबसाइटमा लिस्टेड दोस्रो प्रपर्टि चाहिँ कृषि तथा व्यवसायिक प्रयोजनका लागि उपयुक्त छ । कास्की जिल्लाको लाहाचोको भट्टरमा रहेको यो जग्गासँग तपाईंले छ फिटको रोड एक्सेस पाउनुहुनेछ । दक्षिण-पूर्व दिशामा फर्केको यस जग्गाबाट हिमाल र पहाडहरूको सुन्दर मनोरम दृश्य नियाल्न सकिन्छ । यो जग्गाको मूल्यको कुरा गर्नुपर्दा प्रति रोपनी २८ लाख तोकिएको छ ।