Development

४ महिनामै कालीगण्डकी नदीको बेलिब्रिज सञ्चालनमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । कालीगण्डकी नदीमा निर्माण सुरु भएको चारमहिना भित्रै बेलीब्रिज जडान सकिएको छ । म्याग्दी र पर्वत जिल्लालाई जोड्ने उक्त पुल लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो ।

गत फागुन १७ गतेबाट म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटमा ब्रिज निर्माण थालिएको थियो ।

निर्माण कम्पनिसँग आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । तर एक महिनाअघि नै बेलीब्रिज निर्माण सम्पन्न भइ प्रयोगमा ल्याइसकिएको छ ।

पुलले दुई वर्षयता सडक यातायात सुविधाबाट बञ्चित करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटलाई सडक सञ्जालमा जोडेको छ । 

दुई करोड चार लाख रुपैयाँ लागतमा बेनी–जोमसोम कोरला सडक आयोजनाले बेनीको हिमालयन बिल्डर्ससँग ठेक्का सम्झौता भएको थियो । बेलिब्रिजका लागि नदी किनारको वारि र पारि पक्की वाल निर्माण गरिएको छ । 

हाल प्राविधिक मूल्याङ्कन र नापजाँचको काम बाँकी रहेको छ । ४५ मिटर लामो बेलिब्रिज राख्नका लागि मेशिनरी वाल सहित ग्याविन झाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिएको छ ।

निर्माण कम्पनीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्यअघि नै पुल निर्माण भएको जनाएको छ । 

सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन गरेकाले समयमा नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । 

पर्वतबेनीबाट बगरफाँट जोड्ने सडक वि.सं २०७८ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि बगरफाँटवासी समस्यामा परेका थिए ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It