News

२६ करोड ऋण नतिरेपछि गोल्छा ग्रुपको चिनी मिल लिलामीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । गोल्छा अर्गनाइजेसनको स्वामित्वमा रहेको रौतहटस्थित श्रीराम सुगर मिल्स लिमिटेड लिलामी हुने भएको छ । बैंकबाट लिएको २६ करोड रुपैयाँ ऋण नतिरेपछि मुख्य लगानीकर्ता नेपाल बैंकले उद्योग लिलामीको प्रक्रिया अघि बढाएको हो ।

मेशिनरी तथा उपकरण बेचेर कर्जा असुली हुने देखिएकाले लिलामी प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।  बैंकले उद्योगमा रहेको मेशिनरी उपकरणहरू बोलकबोलबाट बिक्री गर्नेछ । 

उद्योगमा नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतको १७ करोड रुपैयाँ ऋण लगानी रहेको छ । हाल सो ऋणको ब्याजसमेत जोड्दा २६ करोड रुपैयाँ पुगेको छ ।

मिलका मेशिनरी तथा उपकरणको न्यूनतम मूल्य ३८ करोड ११ हजार ७ सय ५५ रुपैयाँ तोकिएको छ । बोलकबोलदाताले मेसिनरी खरिद गर्न सो भन्दा बढी रकम कबोल गर्नुपर्ने छ । बैंकले बोलकबोल पेश गर्ने अन्तिम मिति साउन ४ गतेलाई तोकेको छ । 

०४९ सालमा गोल्छा अर्गनाइजेसनले स्थापना गरेको सुगर मिल्स लगातार नोक्सानमा गएपछि २०७७ साउन १२ गतेदेखि स्थायी रुपमा बन्द भएको व्यवस्थापनले जनाएको छ । 

सञ्चालनको प्रयास भइरहदा पनि नोक्सान बढेपछि उद्योग बन्द गर्नुपरेको जनाइएको थियो ।  उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो । 

चालुपूँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो ।  

मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत लगानीकर्ता गोल्छा परिवारको गरि कुल ३० लाख ४५ हजार ९९० कित्ता सेयर रहेको छ । जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ । मिल बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा छ ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ महम्मदपुरमा रहेको उद्योगको नाममा ८० विगाह जग्गा छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It