News

सार्वजनिक बाटो व्यक्तिका नाममा दर्ता गर्ने ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Pinterest LinkedIn Tumblr

काठमाडौं । सार्वजनिक बाटोलाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता कायम गराएको आरोपमा नापी कार्यालय बुटवल रूपन्देहीका तत्कालीन नापी निरीक्षक सहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी कागजात तोडमोड गरी गैरकानुनी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले नापी निरीक्षक ध्रुवराज  मरासिनीसहित तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र मानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले जग्गाधनीहरूसँग मिलेमतोमा बुटवल उपमहानगरपालिका–१३ को सार्वजनिक जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु भएको थियो । सो को अनुसन्धानको क्रममा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गराएर भ्रष्टाचार गरेको पाइएको हो । 

‘सार्वजनिक बाटोलाई व्यक्तिका नाममा कायम गरी व्यक्तिलाई नै लाभ हुने किसिमले खरिदबिक्री गर्ने/गराउने कार्यको कसूर गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ तथा दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ,’ मरासिनीको हकमा अख्तियारले दायर गरेको आरोप पत्रमा भनिएको छ ।

तत्कालीन नापी निरीक्षक मरासिनीले सार्वजनिक बाटो कायम रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ असोज २९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नम्बर ५९७८ र ५९७९ कायम गराएका थिए ।

कायम हुन आएको कित्ता नम्बर ५९७९ लाई साविक जग्गाधनीकै नाउँमा कायम गरिएको तर कित्ता नम्बर ५९७८ लाई फाइल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको थियो ।

त्यस्तै, सरकारी नक्सा नम्बरसमेत फरक पारी कित्ता नम्बर ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य समेत भएको पाइएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It