News

‘घरजग्गा मेला’ले सुस्ताएको कारोबार उकास्ला ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । लामो समयदेखि घरजग्गाको कारोबार सुस्ताएको छ । केहीवर्ष कोरोना महामारीले थलिएको घरजग्गा बजार उक्सिन नपाउँदै नयाँ भूउपयोग नियमावलीको चपेटामा पर्यो । आर्थिक मन्दीको प्रभाव छल्न र कारोबारलाई चलायमान बनाउन पछिल्लो समय घरजग्गा व्यवसायीहरूले विभिन्न पहल गरिरहेका छन् । त्यसैको एक उदाहरण हो ‘बसोबास प्रपर्टी इभेन्ट’

पौष ७ गते कुपण्डोलस्थित होटल हिमालयमा आयोजित ‘बसोबास प्रपर्टी इभेन्ट’ निजी तवरबाट आयोजना गरिएको नेपालकै पहिलो घरजग्गा मेला हो । जहाँ एक हजारभन्दा बढिले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यसलगत्तै पौष १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा अर्को एउटा घरजग्गा मेला भयो । जसलाई नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको थियो ।

बसोबास प्रपर्टी इभेन्टः 

बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यसहित आयोजना गरिएको सो इभेन्टमा रियलइस्टेट डेभलपर, घरजग्गा एजेन्ट, बैंक तथा वकिल सामेल थिए । यो इभेन्टले घरजग्गा व्यवसायी, रियलइस्टेट डेभलपर र खरिदकर्ताहरूलाई समेत निकै फाइदा पुगेको इभेन्टमा सहभागीहरूको भनाई छ ।

basobaas property event

घरजग्गा व्यापार सुस्ताएको अवस्थामा पनि ग्राहकमा देखिएको उत्साहले डेभलपरहरूलाई पनि हौसला मिलेको पद्मा कोलोनीका सिनियर मार्केटिङ म्यानेजर सुशीला सुबेदीको भनाइ छ । 

‘जग्गा व्यापार सुस्ताएको अवस्थामा खरिदकर्ताले हामीलाई विश्वास नगर्ने हुन् कि भन्ने सोचेका थियौं । इभेन्टमा दुई देखि तीन सय भिजिटर हुन्छन् भन्ने सोच राखेका थियौं । तर ठूलो मात्रामा लगानीकर्ताहरूको सहभागिता देख्दा निकै खुसी लाग्यो । इभेन्टबाट बुकिङ भएको थियो र अझै पनि बुकिङ हुने अपेक्षा राखेका छौं । बसोबासले कारोबार उकास्न गरेको यो पहलले कारोबार केही बढ्न सक्ने अपेक्षा छ ।’ उनले भनिन् । 

मेलामा उपस्थित ग्राहकहरूले अपार्टमेन्टमा खासै चासो नदेखाएको र व्यक्तिगत आवासीय घरहरूमा नै चासो देखाएको डेभलपरहरू बताउँछन् ।

इभेन्टमा घरजग्गामा लगानी गर्न चाहने वास्तविक ग्राहकहरूको सहभागिता रहेको भुमी डेभलपरका मार्केटिङ हेड टेक बहादुर थापाले बताए । उनले भने ‘इभेन्टमा मानिसहरू घुम्नकै लागि मात्र पनि जाने चलन छ; तर बसोबास प्रपर्टी इभेन्टमा भने वास्तविक प्रपर्टी खरिदकर्ताहरूको नै बढि सहभागिता देखियो । जति मानिसहरूको भिड थियो र बुकिङ भयो त्यो हिसाबले इभेन्टलाई सफल मान्नुपर्छ ।’ 

मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा २५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो । जसबाट आवासीय अपार्टमेन्ट, घर र कमर्सियल स्पेसगरी पाँचवटा प्रपर्टी बुकिङ भएका थिए । त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री  हुँदा समग्र स्टलहरूबाट मेलाको दिनमात्रै ५० करोड भन्दाबढिको कारोबार भएको थियो ।

आठौं घरजग्गा मेलाः

अर्कोतर्फ नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको घरजग्गा मेलामा घरजग्गा, निर्माण सामग्री र बैंकिङलगायतका जम्मा ५१ वटा स्टलहरू रहेका थिए । जसमध्ये रियलइस्टेटका २६ वटा र बैंक तथा निर्माण सामग्रीहरूका २५ वटा स्टलहरू राखिएका थिए । संघकाअनुसार यस वर्षको मेलामा २०७६ को भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको छ ।

यस्ता मेलाहरूले खरिदकर्ताहरू कति छन् र कस्ता प्रपर्टीको खोजी भइरहेको छ भन्ने जानकारी प्राप्त गर्न सघाउँछ । सोही जानकारीका आधारमा एजेन्ट तथा डेभलपरहरूले प्रपर्टीहरूको खोजी गर्ने गर्छन् । त्यसो हुँदा यस्ता मेलाहरूले रियल इस्टेट पनि एउटा उद्योग हो भन्नेमा ग्राहकलाई विश्वसनीय बनाउँदछ । 

ghar jagga mela

यस्ता मेलाहरूमा अन-द-स्पट खरिद बिक्रीको निर्णय लिनुपर्ने हुँदा समयमा नै प्रपर्टी खरिद गर्ने निर्णयहरू लिन सक्छन् । मेलामा क्रेताहरू र बिक्रेताहरू एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर लगानी गर्न पाउनु राम्रो भएकोले यस्तो मेलाहरू भइरहनु आवश्यक देखिन्छ । अनुमति प्राप्त कम्पनीहरूले मात्र घरजग्गा खरिद बिक्री गर्न पाउने ऐन कार्यन्वयनमा ल्याउनका लागि पनि यस्ता मेलाहरू हुनु आवश्यक छ । 

समग्रमा, यी दुवै मेलाको लक्ष्य भनेको कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउनु नै थियो । बजारमा प्रपर्टीको मूल्य सस्तिएको भनेर भ्रम छर्ने बिचौलियाका कारण ग्राहकहरू अल्मलिएको अवस्थामा घरजग्गा मेलाको आयोजना गर्नु सकारात्मक पक्ष हो । जसले गर्दा पछिल्लो समय आर्थिक मन्दीका कारण घरजग्गाको मूल्यसम्बन्धी फैलिएको भ्रामक मनस्थितिलाई चिर्न सहजता मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It