Tips & Tricks

घरको निर्माण सम्पन्नता प्रमाणपत्र कसरी लिने ? यस्ता छन् प्रक्रियाहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनैपनि घर तथा भवन निर्माणको वैधानिकताका लागि त्यसको प्रमाणपत्र बनाइन्छ । निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि उक्त संरचना कानुनी प्रावधानअनुसार निर्माण भएको हुनुपर्छ । अन्यथा संरचनाले कानुनी मान्यता पाउँदैन, र सम्बन्धित निकायबाट पाउनुपर्ने सुविधाबाट पनि वञ्चित गराइन्छ ।

संरचना तोकिएको मापदण्ड, पास गरिएको नक्सा र इन्जिनियरिङ संहिताअनुसार निर्माण भएको प्रमाणित गर्ने प्रमाणपत्रको महत्व र प्राप्त गर्ने तरिकाबारे चर्चा गरौँः

निर्माण सम्पन्नता प्रमाणपत्र भनेको के हो ?

निर्माण सम्पन्नता प्रमाणपत्र (Construction Completion Certificate) भनेको घर वा भवनको सम्पूर्ण निर्माण कार्य पूरा भएपछि सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट प्रदान गरिने कानुनी प्रमाण हो । यसले उक्त भवन स्वीकृत नक्सा र निर्माण मापदण्डअनुसार निर्माण सम्पन्न भएको पुष्टि गर्छ । यो प्रमाणपत्रबिना घरलाई पूर्ण रूपमा कानुनी मान्यता प्राप्त हुँदैन ।

निर्माण सम्पन्नता प्रमाणपत्र किन आवश्यक छ ?

निर्माण सम्पन्नता प्रमाणपत्र एउटा सामान्य कागजात मात्र होइन; सम्पत्तिलाई पूर्ण रूपमा मान्यता दिलाउने कानुनी आधार पनि हो । निर्माण सम्पन्नता प्रमाणपत्रले घर कानुनी रूपमा बनेको पुष्टि गर्छ ।

यो प्रमाणपत्र बिना घरको विवरण लालपुर्जामा अद्यावधिक (Mutation) गर्न सकिँदैन ।  राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्न पनि पाइँदैन । बिजुली, पानी, ढल लगायत सुविधाका लागि आवेदन दिँदा नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ ।

यस्तै, निर्माण सम्पन्नता प्रमाणपत्र नलिएको घरबाट बैंकिङ कारोबार पनि गर्न पाइँदैन । बैंकमा घर धितो राखेर कर्जा निकाल्नका लागि घर कानुन अनुसार बनेको हुनुपर्छ । साथै, घरधनीले उक्त घर नामसारी गर्न पाउँदैन । सरकारी अड्डा, अदालतमा हुने घरसँग जोडिएका कुनै पनि कामहरू हुँदैनन् । घर निर्माण सम्पन्न प्रमाणपत्र नलिएको घर खरिद–बिक्री गर्न पनि पाइँदैन । कानुनी समस्या आएको खण्डमा समेत अड्डा अदालतमा मुद्दा हाल्न पाइँदैन ।

प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाः

निर्माण सम्पन्न भएपछि घरधनीले आवश्यक कागजातसहित निर्माण सम्पन्नताको प्रमाणपत्रको लागि स्थानीय तह (नगरपालिका/गाउँपालिका) मा निवेदन दिनुपर्छ । निवेदनको फारम सम्बन्धित नगरपालिका वा गाउँपालिका कार्यालयमै पाइन्छ ।

यसपछि स्थानीय तहको भवन निर्माण इजाजत विभागद्वारा प्राविधिक खटाएर स्थलगत निरीक्षण गराइन्छ । र नक्सा पास गर्दा तोकिएको मापदण्ड पालना भए/नभएको फोटोसहितको प्राविधिक प्रतिवेदन तयार पारिन्छ । त्यसपछि सो प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत वा निजले अधिकार प्रत्यायोजन गरेको अधिकारी समक्ष पेश गरिन्छ ।

भवन निर्माण सम्पन्नताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजातहरूः

(१) भवन निर्माण सम्पन्नताको प्रमाणपत्र पाउँ भन्ने व्यहोराको नक्सावालाको निवेदन,

(२) नक्सा पास अनुसार भवन निर्माण भएको छ भनी घरधनी र डिजाइनरले गरेको कबुलियतनामा,

(३) फाउन्डेसन, प्लिन्थ लेवल, प्रत्येक फ्लोर ढलान गर्दाको फोटो सहितको डिजाइनरको फिल्ड भेरिफिकेसन प्रतिवेदन,

(४) भवन निर्माण सम्पन्न भएको भन्ने व्यहोराको डिजाइनरको प्रतिवेदन,

(५) निर्माण सम्पन्न भएको भवनको सम्भव भएसम्म चारैतर्फ देखिनेगरी खिचिएको फोटोहरू,

(६) सम्पत्ति कर तिरेको कागजात,

(७) घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो,

(८) घरधनीको नागरिकताको फोटोकपी,

(९) नक्सा स्वीकृत गर्दा तोकिएका शर्तहरू पुरा गरेको व्यहोरा निवेदनमा खुलेको हुनुपर्नेछ । जस्तैः सेफ्टी ट्यांकी तथा रुख–विरुवा रोपेको लगायत ।

निर्माण सम्पन्नता प्रमाणपत्र प्राप्त गर्न लाग्ने समय र शुल्कः

निर्माण सम्पन्नता प्रमाणपत्र प्राप्त गर्न लाग्ने समय स्थानीय तहको प्रशासनिक प्रक्रिया, प्राविधिकको उपलब्धतामा निर्भर हुन्छ । तर नगरपालिकाले सामान्यतः भवन निर्माण सम्पन्नताको प्रमाणपत्र निवेदन पेश भएको मितिले १० दिनभित्र दिइसक्छन् ।

निर्माण सम्पन्नता प्रमाणपत्रको लागि लाग्ने शुल्क स्थानीय तहअनुसार फरक हुन्छ । सामान्यतया निर्माणसम्पन्नताको सेवा शुल्क प्रति वर्ग फिट ३ रुपैयाँ पर्छ । सेवा शुल्कबाहेक, प्राविधिक स्थलगत निरीक्षण गर्नुपर्ने भएमा कहिलेकाहीं थप शुल्क लाग्न सक्छ । केही नगरपालिकाले भवनको क्षेत्रफल वा तल्लाको संख्या अनुसार पनि शुल्क निर्धारण गर्ने गर्छन् ।

घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
Pin It